Butwal Today

थारु समुदायका युवा कला र संस्कृति संरक्षणमा जुट्दै

२६ पुष २०८१, शुक्रबार
अ+
अ-

दाङ ।

दाङका थारु समुदायका युवा आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् ।

थारु समुदायको बाहुल्यता भएको जिल्ला भएकाले यही पुस २० गतेदेखि सांस्कृतिक महोत्सव सुरु भएका छन् । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका गढवा र राप्ती गाउँपालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेका छन् । ती मेला महोत्सवमा साना नानीहरु आफ्नो पहिरनमा सजिएर नाच देखाउने गरेका छन् ।

यही पुस १८ देखि २० गतेसम्म घोराहीको शहिद मंचमा भएको कार्यक्रमा साना नानीहरु सबैको आर्कषणको केन्द्र बनेका थिए । घोराही –१० नारायणपुरकी ममता चौधरी ११ कक्षामा अध्ययन गर्दछिन् । माघी महोत्सवका समयमा उनी सबैको आकर्षणको केन्द्र बनेकी थिइन् । ६७ वर्षकी हजुरआमा कृष्णी चौधरीसंग आएकी उनले आफ्नो संस्कृतिका बारेमा जानकारी लिन र केही सिक्नका लागि मेला स्थलमा आएको बताइन् । उनले भनिन्, ‘माघीको मघौटा नाच र त्यसमा लगाइने पोषाक झनै मन पर्छ , त्यसैले पोषाक लागाएर आएको हुँ ’ । मघौटा नाचमा महिलाहरु सेतो गुन्यु र रातो ब्लाउजमा सजिएर बिभिन्न गहना पहिरिएर चिटिक्क परेर ‘सखिरे हो’ भन्दै नाच्ने गर्दछन् ।

घोराही –१७ ओखराका सरिता चौधरी १५ वर्षको भइन् । वडामा संचालन भएको थारु समुदायका युवतीले लगाउने लुङ्गी,चोली र गरगहनामा सजिएर नाचमा सहभागी भइन् । उनले आफ्ना साथीहरु सहित गाउँका कार्यक्रममा मघौटा नाच देखाउनु गर्दछिन् । उनले भनिन्,‘माघी पर्व एकदमै राम्रो लाग्छ,युवा पुस्ता पनि नाच्न जानेका छौ’ हामी युवाले अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ, भन्ने लागेर नाच्न गाउन सिकेका छौ । पहिले गाउँमा आमा,हजुरआमा मात्रै थारु नाचमा नाच्ने र गीत गाउँने गर्दथ्य । गत वर्षदेखि हामी आफैं सक्रिय भएका छौं । थारुहरुको हरेक संस्कार, संस्कृतिलाई जोगाउन आफूहरु सक्रिय भएको उनले बताइन् ।

सोही ठाउँकी सुस्मिता चौधरी पनि थारुको पोषाक, गहना र नाचगानमा रमाउन मनपर्ने बताउँछिन् । गाउँका युवतीहरुले आफ्नो छुट्टै समूह बनाएर नाच्दा झनै मजा आयो । आफै गीत गाउछौ र नाच्छौ पनि, उनले भनिन्, । पहिले दिदी ,आमा र हजुरआमा मात्रै नाच्नु हुन्थ्यो उहाँहरु नाचेको हेरेर सिकेको उनले बताइन् , अब हामी पनि थारु नाच सबै सिकेका छौ । हाम्रो संस्कृति संरक्षण गर्ने दायित्व हाम्रो हो ।

घोराही –१७ का वडाध्यक्ष रामलौटन चौधरीले भने, ‘हामीले वडा माघी सांस्कृतिक विशेष कार्यक्रम गयौं, युवा पुस्ताको संस्कृति जोगाउन चासो देखाउनुभयो । पुरानोे र नयाँ पुस्तालाई संगै राखेर कार्यक्रम गरेकाले पुरानासंग नयाँले सिक्ने मौका पाएका छन् ।’ थारु समुदायले सखिया, झुम्रा, मघौटा, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, बर्कालगायतका नाचमा युवा पुस्ताले निकै चासो दिने गरेको उनल बताए । माघ पर्व नजिकिँदै गर्दा गाउँ–गाउँमा माघ विशेष कार्यक्रम भइरहेका छन् । पुरानो पुस्ताले मात्रै गाउन जानेको ढुम्ररु गीत यसपाली युवा पुस्ताले गीत गाउन सिकेको बताए । आफ्नो भेषभूषा र संस्कति जोगाउन थारु समुदाय लागि परेका छन् ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले थारु संस्कृति पुस्ता हस्तान्तणका लागि पालिकाले थारु संघसंस्थासंग सहकार्य गरेर सांस्कृतिक महोत्सव आयोजना गर्ने गरेको बताए ।

नयाँ र पुरानो पुस्ताको बिचमा भेटघाट हुने र गीत, नाच, भेषभुषा हस्तारन्तरणको माध्यम महोत्सब बनेको उनले बताए । पछिल्लो समय थारु युवाहरु माघमा गाउने गीत नाचमा सक्रिय हुँदै गएको बताए ।