Butwal Today

बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौँ, २४ पुस।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्य गर्न बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार साँझ भएको भेटमा परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीहरूले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्ट लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यानमा राख्दै ठेक्का सम्झौतामा मूल्य समायोजन लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई केहि रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

प्रधानमन्त्री ओलीले सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै निर्माण व्यवसायीलाई गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्नुभयो। उहाँले सरकारलाई गुणस्तर मापदण्ड पुरा नगरेका कुनै पनि कार्य स्वीकार्य नहुने र लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखेर अघि बढ्न निर्देशन दिनुभयो।

सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, विगतमा भूकम्पपछिको पुननिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण पनि गराउनुभयो।