Butwal Today

काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस

२३ पुष २०८१, मंगलवार
अ+
अ-

 काठमाडौं

आज बिहानको भूकम्पको धक्काले काठमाडौंको स्युचाटार स्थित नागार्जुन नगरपालिका-१० का २० वर्षीय रिकेश थापा आत्तिएर आफ्नो तीन तले घरको १.५ तला माथिबाट हाम फालेका छन्। भुईंमा लडेर घाइते भएका रिकेश थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो। उपत्यकावासीहरू आत्तिएर घरबाहिर निस्किएका थिए।

प्रहरीका अनुसार, बाराको कलैया उपमहानगरपालिका, वडा नम्बर १, देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ का ११ जना विद्यार्थी बेहोस भएका थिए। उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज गरिएका छन्।

भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुका केही निर्जीव घरहरूमा पनि क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?