Butwal Today

आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए

२१ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ३ अंकमा सीमित गर्ने मौका गुमाएको छ। ब्राइटनसँग १-१ को बराबरीमा रोकिएपछि आर्सनलले अंकको महत्वपूर्ण अवसर गुमाएको हो।

आर्सनलको घरेलु मैदानमा खेलेको यस खेलमा इथान न्वानेरीले १६औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको ६१ औं मिनेटमा ब्राइटनका जोआओ पेड्रोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

विलियम सलिबाले पेड्रोलाई बक्सभित्र फाउल गरेपछि ब्राइटनले पेनाल्टी प्राप्त गरेको थियो। यससँगै आर्सनल २० खेलमा ४० अंकसहित दोस्रो स्थानमा यथावत छ, जबकि लिभरपुल १८ खेल खेलेर ४५ अंकसहित शीर्ष स्थानमा छ।

यस खेलसँगै, ब्राइटन २० खेलमा २८ अंक जोडेर १० औं स्थानमा छ।

प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न अन्य खेलहरूमा न्युक्यासल, बर्नमथ, यस्टन भिल्ला र ब्रेन्टफोर्ड विजयी भए। क्रिस्टल प्यालेस र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे।