Butwal Today

दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने

१९ पुष २०८१, शुक्रबार
अ+
अ-

बुटवल, १९ पुस ।

दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले सर्वसाधारणका लागि १० करोडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोडको आईपीओ जारी गर्ने निर्णय गरेको हो।

नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए।कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ। कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ। समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिए।

वि.सं. २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो। कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिए। यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ।