Butwal Today

सेयर बजारमा २१.१२ अंकको गिरावट

१४ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपाल स्टोक एक्सचेन्ज (नेप्से) मा आजको कारोबार दिन २१.१२ अंकको गिरावट आएको छ। यससँगै नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ।

कारोबारको सुरूवातमा बजार २६४० अंकसम्म पुगेपनि, पछि बिक्री चाप बढ्दा परिसूचक घटेर २६०९ अंकमा स्थिर भएको छ।

आजको कारोबार रकम सामान्य रूपमा बढेको छ। गत बिहीबारको ५ अर्ब ३२ करोडको कारोबारको तुलनामा आज ५ अर्ब ४७ करोडको कारोबार भएको छ। ६९ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीका शेयरको मूल्य घटेको छ, जबकि २ कम्पनीको मूल्य स्थिर रह्यो।

आजको कारोबारमा माइक्रोफाइनान्स क्षेत्र सबैभन्दा बढी १.१२ प्रतिशत बढेको छ। अन्य समूहको पनि ०.२९ प्रतिशतको वृद्धि भएको छ। तर, फाइनान्स समूह सबैभन्दा बढी ४.४७ प्रतिशत घटेको छ। यसका अतिरिक्त, बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२, र व्यापार समूह १.०३ प्रतिशत घटेका छन्।

आजको कारोबारमा महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। अन्य केही कम्पनीहरूको मूल्यमा पनि वृद्धि देखियो, जस्तै मानुषी लघुवित्त ६.०९ प्रतिशत, सिर्जनशील लघुवित्त ५.८९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशतले बढेको छ।

त्यस्तै, ५ कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावट आएको छ। यी कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंक रहेका छन्। अन्य घटेका कम्पनीहरूमा जोशी हाइड्रोपावर (८.७ प्रतिशत), ग्रीन डेभलपमेन्ट (८.३ प्रतिशत) र बेस्ट फाइनान्स (७.१ प्रतिशत) छन्।