© २०२३
चन्द्रौटा, १३ पुस ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठनमा सहजता प्रदान हुने बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, हनुमाननगरमा रहेको दीपज्योति बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गाउँपालिकाले शिक्षा क्षेत्रलाई चौतर्फी विकासमा शैक्षिक सुधार र गुणस्तरीयतामा थापाले जोडदिए । शिक्षालाई प्राथमिकका राखेको बताउँदै हनुमाननगरमा बाल विकास केन्द्र स्थापना गरिएको उनले बताए । कुनै पनि बहानामा बालबालिकालाई घरमा बस्न नदिई नजिकको विद्यालयमा पठाउन अभिभावकसँग अध्यक्ष थापाले अनुरोधसमेत गरे । सशस्त्र प्रहरीले शान्ति, सुरक्षा कायम गर्न सीमाबासी नागरिकसँग जोडिएको उनको भनाइ छ । यसैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षाले मात्र समाज परिवर्तन गर्ने बताइन् । बालबालिकालाई घरमा राख्न नहुने बताउँदै उनीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित नगरि अभिभावकले शिक्षाप्रति चाँसो राख्नुपर्नेमा उनले जोड दिइन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले ’सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नेपाल–भारतसँग जोडिएका सिमाबासी विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको बताए । जिल्लाकै विकट भारतसँग जोडिएको हनुमाननगरमा सञ्चालित बाल विकासका विद्यार्थी चिसो मौसमलाई समेत मध्यनजर न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरि सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको पाण्डेको भनाइ छ ।
दीपज्योति बाल विकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कल्लु थारुले बाल विकास केन्द्र स्थापना भएपछि बालबालिकालाई पठनपाठन गराउन सजिलो भएको बताएका छन् ।सशस्त्रले आँखा जाँच शिविर, शैक्षिक सामग्री, कपडा वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विजयनगर गाउँपालिका र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको संयुक्त आयोजनामा केन्द्रका २४ जना विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको थियो ।