© २०२३
बुटवल, ११ पुस । शारीरिक सुगठन खेल र खेलाडीको विकास गर्ने उदेश्यका साथ शुक्रबार देखि बुटवलमा दुई दिने प्रतियोगिता हुने भएको छ । एक्टिभ प्लस फिटनेसको आयोजनामा प्रदेश स्तरीय लुम्बिनी क्लासिक–२०२४ पावर लिफ्टिङ प्रतियोगिता हुने भएको हो ।
बुटवलस्थित एसियन पार्टी प्यालेस इट्टाभट्टीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव)ले बताए ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट करिब ८० जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्ने उनले बताए । पुरुष खुल्लातर्फ ५ वटा तौल समूह तथा महिलातर्फ २ वटा तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए । यसैगरी ४० वर्षमाथि उमेर समुहका लागि खुल्ला तौलमै प्रतिस्पर्धा हुने भएको छ ।
पुरुष खुल्लातर्फ ५९ केजीभन्दा कम तौल, ६६ केजी, ७४ केजी तथा ८३ केजीभन्दा कम तौलका बीच प्रतिस्पर्धा हुने छ भने ८३ केजीभन्दा माथिको तौल समूह बीच प्रतिस्पर्धा हुने छ । यसैगरी महिलातर्फ ५७ केजीभन्दा कम तथा त्यसभन्दा माथिका गरि २ वटा तौल समुहमा प्रतिस्पर्धा हुने बताए ।
प्रतियोगितामा पुरुष खुल्लातर्फ ओभरअल टाईटल विजेताले नगद ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । यसैगरि प्रत्येक तौल समुहमा प्रथम १० हजार, द्धितिय ७ हजार र तृतीय नगद ५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
महिलातर्फ ओभरअल समुहको विजेताले २५ हजार तथा तौल समुहमा प्रथम नगद १०, दोस्रो ७ हजार र तृतीय ५ हजार रुपैयाबाट पुरस्कृत गरिने समितिका सदस्य सुरज थापाले बताए ।
यसैगरी मास्टर्स लेभलको प्रतिस्पर्धामा पनि प्रथम, दोस्रो र तेस्रोलाई क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख खर्च हुने उनले बताए ।