© २०२३
चन्द्रौटा, ११ पुस ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । व्यापरिका केन्द्र चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले नागरिक सुनवाई कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने : “सुन्दर शिवराज, सुन्दर चन्द्रौटा बनाउन प्रहरीलाई चाहिने उपकरण प्रतिबर्ष उपलब्ध गराउने गरेका छौँ ।” सबै कार्य पालिकाले मात्रै नभएर नागरिकको पनि दायित्व रहेका बताउँदै व्यवसायलाई प्रोत्सहन गर्नुपर्ने उनले बताए । उद्धारमा खटिने प्रहरीलाई उपकरण प्रदान गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय सरकारले यसक्षेत्रको विकासकालागि सकारात्मक रहेको थापाको भनाई छ ।
यसैबीच इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले कानुनमा टेकेर नागरिकहरू, प्रहरी, प्रशासन लगायतले काम गर्नुपर्ने बताए । उनले कानुनभन्दा माथि कोही छैन सबैले कानुनको पालना गर्नुपर्छ यसले समाज समुन्नत तर्फ उन्मुख हुने जनाए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले साउन महिनादेखि यता ३९ वटा मुद्दा दर्ता भएको बताए । अहिलेसम्म १४ वटा मुद्दा फछ्योट भएको बताउँदै प्रहरी निरीक्षक शाहले ४६ जना प्रतिवादीलाई पक्राउ गरेको उनले बताए । उनका अनुसार पक्राउ परेका प्रतिवादीहरू १३ वर्ष २ महिना १७ दिन कैद भुक्तान गर्नुपर्ने देखिन्छ । वडा प्रहरी कार्यालयले २ लाख १ हजार ३३ रुपैयाँ जरिवाना असुल गरेको छ । साउन यता ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ भने १ सय २० वटा गोरुलाई उद्धार गरेको छ । गोरुको ओसारपसार गर्ने गिरोहलाई मुद्दा चलाइएको छ ।

प्रहरी प्रशासनले सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नागरिकका गुनासा सुन्ने यो प्रयास प्रशंसनीय छ । नागरिक सुनवाई कार्यक्रमले स्थानीय नागरिकहरूको चासोका मुद्दाहरू सुन्ने, सुझाव संकलन गर्ने र समाधानका उपाय पहिल्याउन मद्दत गर्दछ । यस्ता कार्यक्रमले समुदायमा शान्ति, सहकार्य, र समृद्धि ल्याउन यस्तो कार्यक्रमले ठूलो भूमिका खेल्छ । बजारको सरसफाइ, ट्राफिक व्यवस्थापन, र व्यवसाय प्रवद्र्धनका उपायहरूबारेमा नागरिकसँग छलफल गरिएको थियो ।नागरिक सुनवाई कार्यक्रममा महादेव पोखरेल, जमसेर मिया, रहिस शाह, विष्णुप्रसाद खतिवडा, लेखनाथ घर्ती, भूमि भट्टराई, जितेन्द्र मौर्या, गिरिप्रसाद गैरे, बलदेव लामिछाने, ढुन्डीप्रसाद अधिकारी, सुशीला खनाल, शिवराज सुवेदी लगायतले सुनवाई कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
