कार्यदलमा दुवै दलका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरू सदस्य रहनेछन्। एमाले संसदीय विभागका प्रमुख योगेश भट्टराईका अनुसार, कार्यदलले सबै विचाराधीन विधेयकहरूमा छलफल गरेर साझा धारणा तय गर्नेछ। उनले भने, “संसदमा धेरै विधेयकहरू अलपत्र अवस्थामा छन्। ती सबैको अवस्थाबारे अध्ययन गरेर कसरी अघि बढाउन सकिन्छ छलफल गर्छौं र एउटा सुझाव पेस गर्छौं।”
विधेयकहरू अघि नबढ्दा संसदले प्रभावकारी काम नगरेको भन्ने टिप्पणी भइरहेका बेला दुई दलले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल गठन गरेका हुन्।
यसअघि, उच्चस्तरीय संयन्त्र पनि बनाइएको थियो जसले सरकार सञ्चालनका लागि सुझाव दिने काम गर्छ। संयन्त्रमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य रहेका छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक यस संयन्त्रका सदस्य हुन्।




