© २०२३
दाङ, १० पुस ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताएकि छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार घोराहीमा आयोजित कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी नेता शर्माले देशको विकासमा राजनीतिक अस्थिरता प्रमुख बाधक देखिएकाले तीन तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएकि हुन् ।
उनले विगतमा दुई तिहाईको सरकार हुँदा पनि राजनीतिक स्थायित्व हुन नसक्दा देशले सही गति लिन नसकेको जिकिर गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले यसलाई थप पुष्टि गरेको बताइन् ।
उनले पाँच वर्षमा पाँच वटा सरकार बन्ने अवस्था भईरहेको हुँदा यस प्रकारको गलत अभ्यास रोक्न लाग्नुपर्ने बताइन् । ‘पाँच वर्षमा पाँच वटा सरकार बन्ने गलत अभ्यास भईरहेको छ । जनताले मत दिएर देश विकासका लागि पठाएका दलहरु सत्तालिप्सामा भुल्नु हुदैनथ्यो । बहुमतीय प्रणालीले दलहरुलाई काम गर्न भन्दा सरकार कसरी ढाल्ने कुराधेरै सिकायो, यो सच्चिन जरुरी छ’, उनले भनिन् ।
स्थानीय सरकारमा निर्वाचित भएर आउने जनप्रतिनिधिले पाँच वर्ष ढुक्कका साथ काम गर्ने वातावरण रहेको उदाहरण दिँदै उनले संघ र प्रदेश सरकार संचालनका लागि सबै राजनीतिक दलहरुको अबको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिइन् ।
‘विगतमा हामीले दुई तिहाईको सरकार पनि देख्योँ, त्यो सरकार कति लामो टिक्यो । एऊटा सरकार दुई वर्ष टिक्न नसक्ने परिस्थितीले देशले सही बाटो समाउन नसकेको यथार्थ हो । अब बहुमतीय प्रणालीलाई सुधार गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्छ । यसले सबैको भावना समेट्छ । देशले कम्तिमा पाँच वर्षसम्म टिक्ने सरकार पाउँछ र अहिलेको संविधानले न्याय पाउने वातावरण बन्छ ’ उनले भनिन् ।
राजनीतिक स्थायित्व नहुँदा अहिले दुई ठूला दल मिलेर सरकार चलाउन पुगेपनि यो कति दिन टिक्ने भन्ने कुनै ग्यारेन्टी नरहेको उनको भनाई थियो । निर्वाचन प्रणालीमा सुधार गरेर अघि बढ्ने माओवादी पार्टीले एजेण्डा तय गरेको भन्दै उनले मुलुकको हीतका पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरिन । उनले संविधानको मर्म, समानुपातिक निर्वाचन प्रणाली, विकासका आयामलाई थप बलियो बनाउन मिडियाको ठूलो भूमिका रहेको हुँदा यो विषयमा आम जनमानसमा पुर्याउने काममा लाग्न पनि उनले अपिल गरिन ।
आफु मन्त्री भएको बेला पत्रकारहरुको नजिक रहेर धेरै काम गरेको भन्दै उनले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा नवनिर्वाचित पत्रकार महासंघका तर्फबाट आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरिन ।
बधाई तथा शुभकामना कार्यक्रममा महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा पत्रकार र मिडियाले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताए ।