© २०२३
चन्द्रौटा, ९ पुस ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले जीटुजी परियोजना मार्फत किसानलाई जोडेको छ । केन्द्र सरकारले स्थानीय सरकारलाई करोडौँ रकम प्रवाह गरी स्थानीय सरकारले किसानलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गर्ने गरी परियोजना शुरुवात गरेको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशका ३ वटा पालिका विजयनगर गाउँपालिका, तुल्सीपुर उपमहानगर पालिका र रैनादेवि छहरा गाउँपालिकामा परियोजना सञ्चालित छ ।
अमेरिकी सरकार अन्तर्गत (यूएसएड) र कृषि मन्त्रालयको ५ करोड बजेटको कृषि क्षेत्रमा किसानलाई प्रत्यक्ष लाभ हुनेगरी परियोजना लागू गरेको हो । यूएसएड र नेपाल सरकार कृषि मन्त्रालयको आर्थिक सहयोगमा र पालिकाको १ करोड ७१ लाख ७४ हजार रकम गरी ६ करोड ७१ लाख ७४ हजारको लागतमा परियोजना (जीटुजी) कार्यक्रम पालिकाको कृषि कार्यक्रममा ७ वटै वडाहरूमा कृषक समूह बनाई परियोजना सञ्चालन गरिएको छ । विजयनगर गाउँपालिका वडा नम्बर–२ का राजराम भरले परियोजना अन्तर्गत पालिकाको अनुदानमा ८ कठ्ठा जग्गामा मौसमअनुसार विभिन्न तरकारीखेती गर्दै आएका छन् । पालिकाको अनुदानमा कृषि पेशालाई व्यावसायिक रूपमा सुरु गरेको उनले बताए । अनुदान सहयोग पाएपछि हर्षित हँदै कृषिबाट आम्दानी गरेर घरखर्चसँगै छोराछोरीलाई पढाउने खर्च समेत जुटाउन सहज भएको उनको भनाई छ ।
अमेरिका सरकार र नेपाल सरकारबीच (जीटुजी) सम्झौता भइ कृषि परियोजना अन्तर्गत ५ वर्षे कृषि कार्यक्रमबाट पालिकाका २ सय २५ भन्दा बढी कृषकहरूले लाभ लिइरहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । पालिकाले परियोजना सञ्चालनको लागि कार्यविधि बनाई सार्वजनिक सूचना जारी गरेर कृषकको तथ्यांक संकलन, कृृषकहरू छनौट गरको उनले बताए ।
कृषकका माग अनुसार कार्यक्रम तयार पार्ने लगायतका सबै काम पूरा भएपछि कार्यक्रम लागू गरेको विजयनगर गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने : ‘गाउँपालिकाले अनुदानमार्फत् कृषकहरूलाई प्रोत्साहन दिने र कृषकको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम आएको छ । अनुदानमा बीउ, सिँचाइका सामग्री, मेसिनरी उपकरणहरू जस्ता आधारभूत सामग्री उपलब्ध गराउछौं’, उनले थपे: ‘यसले उत्पादन लागत घटाउनुका साथै उत्पादनमा वृद्धि हुन्छ, कृषकहरूलाई बजारसम्म सहज पहुँच सुनिश्चित गर्नका लागि उत्पादनको बजार व्यवस्थापनमा पालिकाले ध्यान दिन्छ, स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने लक्ष्य छ ।’ गाउँपालिका कृषि विकास शाखा प्रमुख रामसुन्दर मालीले किसानहरूलाई शतप्रतिशत अनुदानमा बीउ वितरण, अर्गानिक मलमा ८० प्रतिशत अनुदान, भिटामिनमा ८० प्रतिशत अनुदान उपलब्ध गराइने गरेको बताए । उनले भने: “कृषकहरूलाई आवश्यक मेसिनरी सामग्रीमा ७५ प्रतिशत अनुदान पाउने छन् । जीटुजी परियोजना अन्तर्गत कार्यक्रम विजयनगरको सबै वडाहरूमा सञ्चालित छ ।”
उनका अनुसार लुम्बिनी प्रदेशका ३ वटा पालिका विजयनगर गाउँपालिका, तुल्सीपुर उपमहानगर पालिका र रैनादेवि छहरा गाउँपालिकामा उक्त परियोजनाको कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्षको साउन महिनाबाट सुरु गरेको कार्यक्रमका लागि पालिकाले खेतीको मौसम अनुसार तथ्यांक लिएको थियो । सोही अनुरूप पालिकाको परियोजनामा रहेर कार्यक्रम गर्न ९ वटा समूह बनेका छन् ।
एउटा समूहमा २५ जनाको संख्या छ । ती समूहको अनुगमन निरीक्षण गर्न पालिकाले कर्मचारी र प्राविधिकसमेत खटाएको छ । पालिकाको कृषि शाखाले उक्त परियोजनामा रहेर विजयनगर गाउँपालिकाको वडा नम्बर–१ र ५ मा अनुदानमा कृषकहरूले मकै पकेट क्षेत्रको रूपमा खेती गरेका छन् । वडा नम्बर २, ४ र ७ मा तरकारी खेती, वडा नम्बर ३ मा धानखेती र वडा नम्बर ६ मा कृषकहरूले अनुदानमा व्यावसायिक माछापालन गरेका छन् । कार्यविधि अनुसार उक्त परियोजनामा रहेर मकै खेती ३ कठ्ठा भन्दा धेरै जग्गामा गर्नुपर्ने हुन्छ । त्यसैगरी धानखेती ५ कठ्ठा भन्दा धेरै जग्गामा गर्नुपर्ने हुन्छ । जग्गा भाडामा लिएको भएपनि उक्त परियोजनामा रहेर कृषि कार्यक्रम गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
परियोजना अन्तर्गत गाउँपालिकाको सयौँ कृषकहरूलाई ३ लाख बढी रकमको बिउबिजन वितरण गरेको छ । यस्तै वडा नम्बर–२ मगरघट्टाकी बालिका लम्सालले पालिको अनुदानको सुविधासँगै प्राविधिको प्रभावकारी सेवा पाएको बताउँछिन् । एक कठ्ठा जग्गामा प्याज, एक कठ्ठा जग्गामा खुर्सानी र काउली–बन्दा खेती गरेको उनले बताईन । बीउसँगै सिँचाइका सामग्री समेत अनुदानमा पाएपछि प्राङ्गारिक मलको प्रयोग गरेर विषादीमुक्त खेती गरेको उनको भनाइ छ ।
यस्तै पशु विकास शाखा अधिकृत प्रहलाद ठाकुरले ७ वटै वडाहरूमा माछापालनको लागि माछा पाल्ने कृषको तथ्यांक संकलन सुरु गरी पोखरीहरूको निरिक्षणमा लागेको बताए । मत्स्यपालनका लागि मत्स्यपालन कृषि फर्म, समूह तथा समितिहरू समक्ष सार्वजनिक सूचना जारी गरेको उनले बताए । कृषि क्षेत्रमा प्रत्यक्ष सहयोग पुग्ने कृषि विकास कार्यक्रम सञ्चालन कृषि क्षेत्रबाट आफ्नो पालिकासँगै देशलाई नै आत्मनिर्भर र अर्थतन्त्र उकास्नको लागि टेवा पुग्ने अधिकृत ठाकुरले बताए ।
यस्तै मगरघट्टाकी कृषक बबिता चाईले अनुदानमा प्राप्त बीउ, सिँचाइ सामग्री, मेसिनरी सामान र पालिकाबाट अनुदान पाएको बताईन् । त्यति मात्र नभएर प्राविधिक सहयोगको उपयोग गर्दै बन्दा, प्याज र आलुखेती गरेको उनले बताईन् । जसले घरमा उपभोग गरेर पनि आम्दानीको स्रोत बनेको समेत उनको जिकिर छ । पालिकाले कृषि संकायका विद्यार्थीहरूलाई कृषिक्षेत्रमा जोड्न सके यस कार्यक्रमलाई प्रभावकारी बनाउन टेवा पुग्ने उनको भनाइ छ ।