© २०२३
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएको समाचारले देशको आर्थिक अवस्थामा केही भएपनि प्राण सिञ्चित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक व्यापार चार दशमलव २१ प्रतिशतले बढेको छ । यस वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । देशको आर्थिक अवस्थामा सुधार भैरहँदा जनताको अवस्थामा कहिले ? सरकार यो बिषयमा गंभीर हुनु जरुरी छ । साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घटिरहेकोमा पछिल्ला दुई महिनामा आयात निर्यात दुवै बढेको अवस्थाले नेपालको आर्थिक अवस्थामा अव सुधार हुने अपेक्षा गरिएको छ । देशको आर्थिक अवस्थामा परिवर्तन हुँदैगर्दा नेपाली जनताको जीवनमा सुधार कहिले होला ? सरकारले अव यसतर्फ ध्यान दिनुपर्दछ । पछिल्लोसमय दैनिक अत्यावश्यकीय वस्तुको बजार भाउमा वृद्धि भएको छ । दैनिक जीवनयापनका निम्ति आवश्यक चामल, दाल, तरकारी, तेल आदिको भाउ बढेको छ । दशैँताका बढेको भाउमा अझ थपिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण देखाएर व्यापारीले आमउपभोक्ताको टाउकोमा मूल्य बृद्धिको भार बोकाएका छन् । सरकारले उपभोक्तालाई राहत दिने काम गर्नुपर्नेमा उल्टो मूल्यबृद्धिको भार बोकाएको छ । मूल्य नियन्त्रणमा सरकारले खासै चासो दिएको समेत छैन । चाडपर्वका बेला गरिएका मौसमी अनुगमन अहिले रोकिएको छ । कुन बस्तुमा कति मूल्य बढ्यो भन्ने कुरा अनुगमन नहुँदा सरकारका निकायसमेत अनभिज्ञ छन् । यसरी बजार भाउमा वृद्धिलाई पक्कै पनि स्वाभाविक विषय मान्न सकिँदैन् । चाडपर्वको मुखमा बढेको भाउ त्यसपछि कम हुने गरेको छैन । यो पहिलेदेखिकै परम्परा हो । नियमनकारी सरकारी निकायलाई बजार अनुगमन गर्ने फर्सद छैन । व्यापारीहरूले मौकाको फाइदा उठाएर आफूखुसी बजार भाउ बढाएको पाइएको छ । निश्चितरूपमा समाजप्रति सबैको केही न केही उत्तरदायित्व हुनुपर्दछ । यस अर्थमा समाजप्रति व्यापारीहरूको पनि उत्तरदायित्व हुन्छ । तर, मूल्य नियन्त्रण गरेर उपभोक्तालाई राहत दिन व्यापारीहरूले कहिल्यैपनि चासो देखाएनन् । कतिपय कारणले अन्तर्राष्ट्रिय बजारमा समेत दैनिक उपभोग्य सामग्रीको भाउमा वृद्धि हुँदा नेपालमा बढ्नु स्वाभाविकै भएपनि बाह्य प्रभाव नहुँदा नेपाली बजारमा भाउ बढ्नु कदापि राम्रो मान्न सकिदैन् । उपभोक्तालाई राहत दिन सरकारले नसकेपनि उपभोक्ता आफै सस्तो बजार खोज्दै भारतीय बजार जान बाध्य हुने गरेका छन तर अहिले भन्सार नियन्त्रणका नाममा सामान्य उपभोक्तालाई कडाई गर्ने गरिएको छ । त्यसो त नेपालको बजार भारतमै बढी निर्भर हुने गरेको छ । भारतले यसअघि चामलमा लगाउँदै आएको २० प्रतिशत कर छुट दिँदा पनि नेपालमा आयातित भारतीय चामलको भाउमा वृद्धि हुनुका पछि को जिम्मेवार छ ? सरकारले यो बिषयमा मिहिन ढंगले सोच्नु जरुरी छ । नेपाली बजारमा दैनिक उपभोग्य बस्तुमा वृद्धि हुनु नेपाली आम उपभोक्तालाई जीवनयापन गर्न थप सास्ती दिनु हो । यो बिषयमा अव सरकारको ध्यान जाओस् । सरकारको आर्थिक अवस्था सुधार भएरमात्रै हुँदैन, जनताले राहतको महसुस गर्न नपाउँदासम्म आर्थिक सुधारले खासै अर्थ राख्दैन् । तसर्थ अवको दिनमा सरकार आफै मूल्य वृद्धि नियन्त्रण गर्न अग्रसर बनोस् । उपभोक्ताको हितमा खुलेका उपभोक्ता हित संरक्षण मञ्चहरू निदाएका छन् । उनीहरूको पनि ध्यानाकर्षण होस् ।