काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मंगलबार शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशका बीचका विभिन्न विषयहरूमा छलफल भएको थियो, जसमा व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा भइरहेको सहयोगलाई बढावा दिने विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउनका लागि नेपालले अध्यक्ष मुलुकको रूपमा पहल गरिरहेको बताए। उनले भने, “कुनै पनि दुई मुलुकबीचको समस्याले सार्कजस्ता क्षेत्रीय संगठनमा प्रतिकूल प्रभाव पर्नु हुँदैन।” साथै, नेपालले “सबैसँग मित्रता र छैन कसैसँग शत्रुता” भन्ने भावनामा आधारित रहेर सबैसँग सहकार्य गर्दै आएको र न्यायोचित राष्ट्रिय हितको संरक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको स्पष्ट पारे।
राजदूत हस्मीले पाकिस्तानले आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउँदै, पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्नका लागि तत्पर रहेको बताएका छन्।



