© २०२३
साहित्य समाजको दर्पण मात्र नभै सामाजिक रूपान्तरणको आधार पनि हो । साहित्य समाजमा विद्यमान अनुभवको ऐतिहासिक पृष्टभूमिमा साहित्यकारको कलमबाट मुखरित हुन्छ । यस क्रममा अनुभव र अभिब्यक्तिका वीचमा अन्तरक्रिया भै समाजको संरचना निर्माणमा भूमिका खेल्दछ । अर्थात् साहित्य समाजको उपज हो । त्यस उपजमा भावी समाज निर्माणको बीउ अङ्कुरण भएको हुन्छ । साहित्यलाई विशेषगरी दुई दृष्टिकोणबाट हेरिएको पाइन्छ । एकथरी मानिसहरू साहित्यलाई कलात्मक सुन्दर आदर्श अभिब्यक्ति जस्ले आनन्दको अनुभूति गराउँछ भन्ने रूपमा लिन्छन् । अर्काथरी मानिसहरू साहित्यलाई विचारको संबाहकका रूपमा लिन्छन् । उदाहरणका लागि फ्रेञ्च दार्शनिक भिक्टर कुजिनले १९ सौं शताब्दीको सुरूमा साहित्यको मूल्य यसले दिने सौन्दर्यमा हुन्छ र यसले सामाजिक वा राजनीतिक वा अन्य कुनै प्रकारको उद्देश्य प्राप्तिको सेवा गर्दैन भन्ने धारणा अघि सारे । यस प्रकारको सौन्दर्यवादी साहित्यिक धार अहिलेपनि धेरैको रोजाइमा छ । तर, माक्र्सवादी दृष्टिकोण बोकेको प्रगतिशील धारले साहित्य भनेको सामाजिक रूपान्तरणका लागि विचार विस्तार गर्ने माध्यम हो भन्ने राखेको हुन्छ । उदाहरणका लागि रामेशहरूको गायन रहेको “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ” बोलको गीतले क्रान्तिको सन्देश दिएको छ । रसियन साहित्यकार म्याक्सिम गोर्कीको आमा उपन्यासको मूख्य पात्र आमा कतिपय विषम परिस्थितिका वाबजुद समाज परिवर्तनका लागि निडर भएर खटेकी हुन्छिन् । साहित्य संरचनाका हिसाबले सुन्दर र प्रभावका हिसाबले मानिसलाई कुनै प्रकारको सन्देश दिने वा शिक्षा दिने वा विचार निर्माण गर्न सहयोग गर्ने वा आनन्द मानेर रमाउने अवस्था सिर्जना गर्दछ । कला, सौन्दर्य र कल्पनाका आधारमा सुन्दर अभिब्यक्तिभित्र भयानक विचारको विस्फोट गर्ने क्षमता साहित्यले राख्दछ । साहित्य विचारको संबाहक हो भनिन्छ । मानिस स्वभावैले चिन्तनशील, नवीन विचारहरूको खोजी गर्ने, तार्किक क्षमता र कल्पना शक्ति भएको हुन्छ । अधिकांश साहित्यले कुनै प्रभावकारी विचारधाराको प्रतिनिधित्व वा विरोध गरिरहेको हुन्छ । समाजको कुनै वर्गीय चरित्रको पक्षपोषण वा विरोध गरेको हुन्छ ।
सामान्यतया विषयवस्तु, पात्र, परिवेश र वातावरणको माध्यमबाट समेत निश्चित अवधारणालाई स्थान दिने प्रयास गरिएको हुन्छ । विषयवस्तुले कुनै प्रकारको मूल्य मान्यताको सबलीकरण वा अवमूल्यन गर्दछ । पात्रहरूले पनि कुनै सामाजिक वर्गको चरित्र प्रतिनिधित्व गर्दछन् । उदाहरणका लागि प्रगतिशील साहित्यले समकालीन समाजको शक्ति संरचनालाई चुनौति दिन्छ । समाजमा जहिलेपनि हुने खाने र हुँदा खाने विचको सम्बन्ध द्वन्द्वात्मक हुन्छ । असमानताको स्थिति कहिल्यै पनि सहज हुदैन । यद्यपि शक्तिमा रहेको उच्चवर्गले तल्लो वर्ग जहिले पनि चुपचाप शान्त रहिरहोस् भन्ने चाहना राखेको हुन्छ र त्यसका लागि दमनात्मक वा नियन्त्रणात्मक संरचना र मूल्य मान्यताको विकास गरेकोे हुन्छ । सामन्ती समाजमा कतिपय अन्धविश्वासजन्य ब्यवहारहरू तल्लो वर्गमाथि लादिएको हुन्छ । त्यसैगरी शिक्षा, रोजगारी, सुविधा आदिमा समेत पक्षपातपूर्ण ब्यवस्थाको पक्षपोषण गरिएको हुन्छ । त्यसैले साहित्यले समालोचनात्मक साँस्कृतिक विश्लेषणलाई महत्व दिने र अवैज्ञानिक धारणाहरूलाई चुनौति दिने गर्नुपर्दछ । उदाहरणका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितामा उल्लेखित ईश्वरको प्राप्ति मन्दिर धाएर होइन कि दुःखीहरूको सेवामा हुन्छ भनेका छन् । त्यस्तै उनले नेपाली समाजमा रहेको जातपातको कुप्रथालाई चुनौति दिंदै मुनामदन खण्डकाब्यमा “क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुदैन” भनेका छन् ।
साहित्यले प्रचलित धारणा, मूल्य मान्यताहरूलाई चुनौति दिंदै समाज रूपान्तरणका लागि सामाजिक परिवर्तनका पक्षमा पैरवी गर्ने, समानता र न्यायपूर्ण अवस्थाको प्रबद्र्धन गर्ने गर्दछ । आगो ओकल्ने कविका रूपमा परिचित कवि युद्धप्रसाद मिश्रले अहिंसा प्रार्थना लघुकथा संग्रह (१९८६) तयार गरेका थिए । तर, राणा प्रधानमन्त्री भिम शमशेरले प्रकाशन नहुँदै च्यातेर फालिदिएका थिए । सुब्बा कृष्णलालले लेखेको मकैको खेति पनि राणाहरूले नष्ट गरेका थिए । साहित्यले सिमान्तकृतका आवाजहरू उठाउने स्थान प्रदान गर्ने, सामाजिक मुद्दाहरूका सम्बन्धमा सचेतना बढाउने कार्य गर्नका लागि पाठकलाई उत्प्रेरित गर्ने गर्दछ । वैकल्पिक दृष्टिकोण र कथन प्रस्तुत गरेर साहित्यले समालोचनात्मक चिन्तनका लागि प्रोत्साहन गर्ने, परानुभूति प्रवद्र्धन गर्ने, समावेशी र समतामूलक समाज निर्माणका लागि योगदान गर्ने प्रगतिशील लक्ष्य लिएको हुन्छ ।
साहित्यले समाजमा भएका विकृत अवस्थाको चिरफार गर्ने गर्दछ । यसले समाजमा भएका असल अभ्यासको प्रशंसा र गलत अभ्यासको ब्यंग्यात्मक ढंगले सुधारका लागि सन्देश दिन्छ । विशेषगरी मानिसका सोंचाइलाई परिवर्तन गर्ने, मनोरञ्जनमार्फत मानसिक स्वास्थ्य कायम गर्ने, अनुभवलाई अभिब्यक्त गरी नकारात्मक भावना परित्याग गरी शुद्धिकरण कार्य गर्ने, उपलब्ध परिस्थितिको बिम्बदिने, कथानकबाट नयाँ विचारको प्रवाह गर्ने, विषयवस्तुले मानिसहरूलाई सही दिशानिर्देश गर्ने भएकोले साहित्य सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण माध्यम हो । राणा शासनको अन्त्य, पञ्चायतको अन्त्य, गणतन्त्र प्राप्तिका आन्दोलन लगायत सामाजिक संघर्षमा साहित्यले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ । साहित्यले असमानताका विरुद्ध चेतना बढाउने र समाज ब्यवस्थाको वैकल्पिक उपाय समेत बताएर संघर्षको गोरेटो निर्माण गर्दछ । वर्गीय दृष्टिकोणका मुख्यगरी चारवटा पक्षहरू हुन्छन् । आर्थिक शक्ति, भौतिकवाद, वर्ग संघर्ष र कला, साहित्य र विचारधारा । यसरी साहित्यलाई समाज रूपान्तरणको प्रमुख पक्ष वा अवयवका रूपमा स्वीकारिएको छ । तसर्थ साहित्य मनोरञ्जनका लागि मात्र नभएर विचारधारामा समेत प्रभाव पार्न सक्ने भयो भने त्यसले समाजलाई केही योगदान गर्न सक्दछ । आलंकारिक शब्दजालभन्दा सर्वसाधारणले सजिलै बुझ्न सक्ने सरल भाषामा अभिब्यक्त विचारले मानिसलाई प्रभाव पार्न सक्ने भएकोले साहित्यमा भाषिक सरलता, समाजको विद्यमान अवस्थाको विश्लेषण र समाज रूपान्तरणका लागि मार्गचित्र कोरिएको हुन्छ । तसर्थ आफ्ना रचनालाई समाज रूपान्तरणको माध्यमका रूपमा स्थापित गर्न सक्नु कुनैपनि साहित्यकारको महानता हो ।