© २०२३
दाङ,८ पुस ।
घोराही उपमहानगरपालिका –९ का शान्ता केसीले २०५२ सालदेखि स्वास्थ्य स्वयम सेबिकाको रुपमा काम गर्न थालेकी हुन् । उनी अहिले ५९ वर्षको भइन् । केही महिनापछि उनले अबकास लिदै छिन् । तीस वर्ष सेवा गरेको कामबाट बिश्राम लिँदा उनलाई कुनैसेवा सुबिधा नपाउने भएपछि मन खिन्न भएको छ । घरको मानो खाएर गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको ज्यान वचाउन दिनरात नभनी खटिने स्वास्थ्य स्वयम्सेबिकालाई अवकास हुँदा सेवा सुबिधा दिनुपर्ने उनको माग छ । उनले भनिन्, सरकारले दिने खोप, पोलियो थोपा,भिटामिन लगाएतका सबै कार्यक्रममा स्वास्थ्य स्वयमसेबिकाले सहयोग गर्ने र सो काम वापत चार सय रुपैया खाजा खर्च मात्रै पाउने गरेका छौ, त्यो पैसाले गाडिभाडा पनि पुग्दैन, हामीले कसरी सेवा दिने ? आफ्नो घाउ लुकाएर अर्काको घाउमा मलम लगाउने काम गरेका छौ, उनले भनिन् ।
घोराही उपमहानगरपालिका –१२ हापुरका इमाकुमारी शर्माले विगत २० वर्षदेखि स्वास्थ्य स्वयंसेबिकाको रुपमा काम गर्दै आएकी छन् । वर्षको १० हजार पोषाक भत्ता बाहेक अन्य सेवा सुबिधा राज्यले नदिएको उनले बताइन् । पारिश्रमिक बिना काममा खटिनुपर्दा घर परिवारबाट असहयोग हुने गरेको छ । दिनभरी घरको काम छोडेर नागरिकका घर दैलोमा सेवा दिनुपर्ने बाध्यता छ तर कामको मूल्याङ्कन छैन, उनले भनिन् । आफ्नो क्षेत्रमा पर्ने स्थानको १सय १० वटा सूचकको प्रत्येक महिनामा प्रतिबेदन बुझाउनु पर्छ ती सूचकका बारेमा जानकारी लिन पनि गाउँघरमा घुम्नुपर्ने बाध्यता छ । प्रत्येक महिनाको १० गते नियमित खोप हुन्छ त्यसमा पनि स्वास्थ्य संस्थामा पुग्नुपर्छ र प्रत्येक महिनाको २९ गते महिनाभरको रिपोर्ट बुझाउनुपर्छ त्यसका लागि पनि स्वास्थ्य संस्था पुग्नुपर्ने हुन्छ । दुर्गम स्थानका स्वास्थ्य स्वयम सेबिकाहरुलाई बाटोघाटो र यातायातको समस्या भएको उनले बताइन् ।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले २०४५ सालदेखि समुदायको स्वास्थ्य सुधारमा दिनरात खटिने महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाइ सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने बताए । स्वास्थ्यका सम्पूर्ण कार्यक्रम स्वास्थ्य स्वयमसेबिका कारण सफल भएका छन्, उनले भने, स्वास्थ्य स्वयमसेबिका स्वास्थ्य सुधारका मेरुदन्ड भएका कारण उनीहरुले सेवा सुबिधा पाउनुपर्छ ।।।