© 2026
चन्द्रौटा ५ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । पुस ५ देखि ९ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाका मेयर अजय थापाले वर्षभरि नै खेलकुद गतिविधि सञ्चालन गरेर नगरपालिकालाई खेलाडी उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको बताए । यसैबीच वडा अध्यक्ष टेकलाल सापकोटाका अनुसार खेलकुद प्रतियोगिताले युवा पुस्तालाई कुलतबाट टाढा राख्न मद्दत गर्नुका साथै उनीहरूलाई खेलकुदमा हौसला प्रदान गर्नेछ ।
शिवराज नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर विकले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितापछि नगरस्तरीय मेयर–उपमेयर कपको तयारी थालिने जनाए । यस्तै खेलकुद नगर विकास समितिका संयोजक सन्तोष चौधरीले प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला स्तरीय प्राविधिक समूह परिचालन गरिने र खेललाई विवादरहित बनाउने प्रतिबद्धता जनाए ।
यस प्रतियोगिताले शिवराज नगरपालिकामा खेलकुदको विकास र युवा पुस्ताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । संयोजक चौधरीका अनुसार खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा नगरपालिकाका १५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ ।
प्रतियोगितामा ५० वटा विभिन्न इभेन्टहरू समावेश हुनेछन्, जसमा ८६६ जना विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरिने शिक्षा तथा खेलकुद शाखा प्रमुख विकले जानकारी दिए ।