© २०२३
बौद्ध शिक्षालाई धर्मकारूपमा व्याख्या गर्ने प्रवृत्तिले बुद्ध र उनको दर्शनको व्यवहारिक पक्षलाई छायाँमा पार्दै आएको छ । यस सन्दर्भमा बुद्धका व्यक्तिगत, पारिवारिक एवम् राज्य संचालन सम्बन्धि दर्शनहरू महत्वपूर्ण छन् । महत्वपूर्णमात्र होइन व्यवहारिक पनि छन् । यिनले समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र र व्यवस्थापनका पक्षमा पनि योगदान पु¥याउन सक्छन् । बुद्धले चार आर्य सत्यमा, आर्यअष्टाङ्गिक मार्ग, मध्यमार्ग, पतीत्यसमुत्पाद वा कार्यकारण सिद्धान्तजस्ता सिद्धान्तहरूमार्फत् मानव जगतलाई दिशाबोध गराए । बुद्धका यी शिक्षाहरूलाई व्यवहारिकरूपमा मानव जीवन सहज, सरल, एवम् सुन्दर बनाउन प्रयोग गर्न सकिन्छ । समान्य अर्थशास्त्रले बेरोजगारी, गरिबी र आय असमानताजस्ता समस्याहरू समाधान गर्ने प्रयास गर्ने गरेपनि व्यवहारमा यी समस्याहरू झनझन बढ्दै गएको देखिन्छ । विकसित हुन् वा विकासोन्मुख, हरेक देशमा यी समस्याहरूले अर्थशास्त्री एवम् नीति निर्माताहरूलाई चुनौति दिँदै आएका छन् । यस्ता समस्याहरू समाधानका निम्ति बौद्ध शिक्षाले बाटो देखाएको छ । तिनको व्यवहारिक प्रयोगबाट यस्ता आर्थिक समस्याहरूसँग जुध्न महत्ववूर्ण योगदान पुग्न सक्दछ । बुद्धले धर्म आर्जन गर्न दानलाई महत्व दिए । तर दानले गरिबी वा आय असमानताजस्ता समस्याहरू समाधान गर्न सकिन्छ भन्ने तर्क गरेनन् । बरु त्यसको लागि सामुहिक खेती गर्ने र त्यसको प्रतिफल पनि सामुहिक रूपमा बाँडफाँड गर्नेतर्फ सुझाव दिए । तत्कालीन अवस्थामा अर्थतन्त्रको महत्वपूर्ण आधार भनेको खेतीपाती एवम् पशुपालन थियो । त्यसका लागि राज्यबाट विउबिजन तथा पशुका लागि आहारको ग्यारेन्टी गर्नुपर्ने मान्यता बुद्धको थियो । यसले गर्दा किसानहरूलाई ढुक्क भई खेतीपाती गर्न प्रोत्साहन मिल्दथ्यो । साथै सामूहिक कृषिले रोजगारी सिर्जना गर्नुका साथै प्रतिफल आपसमा बाँड्नाले सबैका आवश्यकताहरू सँगसँगै पूरा गर्न सकिने सरल एवम् सुन्दर अर्थशास्त्रीय दृष्टिकोण बुद्धले प्रस्तुत गरे । तत्कालीन समयमा मात्र होइन, खासगरी नेपालजस्तो विकासोन्मुख मुलुकका लागि यस्तो दृष्टिकोण अझै पनि उत्तिकै व्यवहारिक छ । नेपालकै सन्दर्भ हेर्ने हो भने आजपनि कृषि क्षेत्र समग्र मुलुकको अर्थव्यवस्थाको आधार मानिन्छ । कृषि क्षेत्रले प्रत्यक्ष रोजगारी र आयमा भूमिका खेल्नुका साथै अप्रत्यक्ष रूपमा घरेलु तथा साना उद्योगहरूको विकासमा मद्दत पुग्छ । यसैमार्फत् ठूलाठूला उद्योगहरूको विकास हुन्छ । अतः कृषि औद्योगिकरणको आधार हो । त्यसैले यसलाई राज्यबाट प्रोत्साहन गर्नु आवश्यक छ ।
नेपालमा कृषिका धेरै समस्याहरू छन् । समयमा बिउबिजन नपाउनु, मलखादको समस्या रहनु र उत्पादनले बजार नपाउँदा पनि किसानहरू हतोत्साहित छन् । यसैका कारण जीवन निर्वाहका लागि वैदेशिक रोजगारीमा जाने र परिवारले शिक्षा र स्वास्थ्य सुविधाको नाउँमा गाउँघर छोडी बजार छिर्ने परम्परा मौलाउँदै गएको छ । यही कारणले गाउँघरतिरका खेतबारीहरू बाँझो हुने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । परिणामस्वरूप नेपालले खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो समस्या समाधानको लागि बुद्धले सुझाएको उपायलाई व्यवहारिकता दिन सकिन्छ । नेपालमा पनि सामूहिक खेती गर्ने, विउविजन र पशुआहारको ग्यारेन्टी सरकारले गर्ने साथै किसानको उत्पादन राज्यद्वारा खरिद गर्ने व्यवस्था गर्न सके कृषिमा आकर्षण बढाउन सकिन्छ । यसले गर्दा जीवन निर्वाहको ज्यालाका लागि पनि वैदेशिक रोजगारीका लागि पलायन हुने समस्या केही हदसम्म भए पनि गर्न सकिन्छ । कृषिमा आत्म निर्भर बन्दै घरेलु तथा साना उद्योगको विकास पनि गर्न सहज बन्छ । यसै गरी क्रमशः देशलाई औद्योगिकरणतर्फ अगाडि बढाउन सकिन्छ । बुद्धका दर्शनलाई आधार बनाएर भुटानले कूल ग्राहस्थ्य उत्पादनको सट्टा कूल ग्राहस्थ खुसी (जिएनएच) लाई अर्थतन्त्रको आधारस्तम्भ मानेको छ । यही जीएनएचकै अवधारणाको आधारमा सन् २००५ मा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जीएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा यूएनडीपीले सन् २०११ मा खुशीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो । बुद्धका दर्शनलाई नै अधार बनाएर थाइल्याण्डले १९९७ को आर्थिक मन्दी चिर्न ‘सफिसियन्सी इकोनोमिक्स’ को प्रतिपादन ग¥यो । यति मात्र होइन इएफ शूमाकरले बुद्ध विचारहरूकै आधारमा ‘बौद्ध अर्थशास्त्र’ को नयाँ अवधारणाको विकास गरे । नेपालमा पनि बुद्धका शिक्षाहरूलाई आर्थिक दृष्टिकोणमा लागू गर्न सकिन्छ । थाइल्याण्डले जस्तै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा बुद्ध दर्शनको प्रयोग सम्भव छ । अर्थशास्त्र सीमित साधनको उच्चतम प्रयोग गर्दै अधिकतम् सन्तुष्टी प्रदान गर्न उद्धत हुन्छ । यसका लागि बौद्ध विचारले मध्यमार्गी विचार, समस्या समाधानको लागि उचित मानसिक ज्ञानको प्रयोग र चुनौतिहरूको सामना गर्नका लागि आत्मप्रतिरक्षाको भावना सिकाउँछ । यसका साथै बौद्ध दर्शनले ज्ञान र नैतिकता एवम् मान्यताहरूको प्रयोगलाई पनि उत्प्रेरित गर्दछ । यसैको नतिजास्वरूप अर्थशास्त्रको नविनतम् दृपष्टोण अर्थात् बौद्ध अर्थशास्त्रको जन्म भएको हो ।
विश्वका अधिकांश मुलुकहरूले अर्थशास्त्रको यस नवीन दृष्टिकोणलाई चासोको रूपमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । उनीहरूले यसलाई अर्थतन्त्रमा प्रयोग पनि गर्दे आएका छन् । कतिपय मुलुकले आफ्नो राष्ट्रिय अर्थतन्त्रमा पनि यो अवधारणालाई अङ्गीकार गर्न थालेका छन् । यसैबाट उनीहरूले लोभलाग्दो प्रगति पनि हासिल गरेका छन् । साथै आर्थिक विकासमा आत्मनिर्भर पनि बन्दै गएका छन् । त्यसैले विश्वमा आज बौद्ध अर्थशास्त्रप्रतिको अध्ययन अनुसन्धान फराकिलो बन्दै गएको छ । तर हामी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गर्व मात्र गरिरहेका छौँ । बुद्धका विचारहरूलाई जान्न पनि उद्दत छैनौँ । त्यसैले नेपालको सन्दर्भमा आर्थिक विकासका लागि बुद्धका विचाहरू प्रयोगमा आएका छैनन् । नेपाली अर्थतन्त्रले आफ्नै माटोमा उत्पादित बुद्ध र उनको विचारलाई आत्मसात गर्न सकेको छैन । नेपाली अर्थतन्त्रमा चुनौतिमात्र छैनन् । अवसरहरू पनि उत्तिकै छन् । जलविद्युत, पर्यटन र कृषि नेपालका सम्भावनाका क्षेत्र हुन् । आम जनताको सहभागितामा सेयर मार्फत् ठूला जलविद्युत आयोजना संचालन गर्न सकिन्छ । यसले पेट्रोलियम पद्धार्थलाई प्रतिस्थापन गर्न सक्छ । पर्यटन मार्फत् रोजगारी, आय आर्जन र कला संस्कृति र सम्पदाको पहिचान स्थापित गर्न सकिन्छ । होमस्टे यसको गतिलो उदाहरण बन्न सक्छ । यसका साथै सामूहिक कृषि मार्फत् परनिर्भरताको जालो भत्काउन सकिन्छ । यहाँ सेयरबाट पूँजी संकलन, स्थानीय होमस्टे र सामूहिक खेती बौद्ध अर्थशास्त्रका प्रायोगिक क्षेत्र हुन् । त्यसैले नेपालको आर्थिक विकासमा बौद्ध अर्थशास्त्रको प्रयोग गर्न सकिन्छ । यसैबाट मुलुकको अथिक विकास पनि सम्भव छ । आत्मनिर्भर उत्पादन, मध्यमार्गी उपभोग र न्यायोचित वितरणका मार्फत मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ । यी उपाय बौद्ध शिक्षाका उपज हुन् । अर्थशास्त्रीय दृष्टिकोणका लागि विनय पिटकमा उल्लेखित आपसी सहयोग, आर्यअष्टाङ्गिक मार्गको सम्यक आजीविका र कार्यकारण सिद्धान्तको कारण र असरको उपयोगलाई व्यवहारिकता दिन सकिन्छ । खास गरी बौद्धअर्थशास्त्र मार्फत् उपलब्ध साधन स्रोतको उच्चतम् प्रयोग र दीगो विकासको अवधारणालाई उपयोग गर्न सकिन्छ ।
थाइल्याण्डका राजा भुमिबोलले आफ्नो देशको आर्थिक विकासका लागि गाउँगाउँ डुलेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बौद्ध विचारधाराको उपयोग गरे । यद्यपि उनले अर्थशास्त्रको अध्ययन गरेका थिएनन् । तर पनि उनले प्रतिपादन गरेको “सफिसियन्सी इकोनोमी” ले थाइल्याण्डको आर्थिक समस्याहरूको सजिलै सामना गर्न सक्यो । यति मात्र होइन, आर्थिक विकासमार्फत् मुलुकलाई आत्मनिर्मर देशको रूपमा स्थापित पनि गरायो । स्थानीय स्रोतको प्रयोग, सामूहिक खेती, दीगो विकास र प्रविधिमार्फत् उत्पादन, उपभोग, विनिमय र वितरणलाई प्रोत्साहन गर्न थाइल्याण्डले ‘सफिसिएण्ट इकोनोमी’ लाई प्रयोग ग¥यो । नेपालले पनि माटो सुहाउँदो गरी यस्तो आर्थिक दृष्टिकोण प्रयोग गर्नसके अर्थतन्त्रको सुधार र विकास सम्भव हुनसक्छ । बुद्ध यहीँकै माटोमा जन्मिएका हुन् । तर, यहाँको अर्थतन्त्रमा बौद्ध विचारको उपयोग रत्तिभर पनि हुन सकेको छैन । हाम्रै दर्शनको प्रयोग गरेर विश्वले नविनतम् आर्थिक सिद्धान्तको प्रतिपादन गरिरहेको छ । त्यही सिद्धान्तको प्रयोग गरेर आर्थिक विकास गरिरहेको छ । हामी भने न त बुद्धका विचारहरूसँग परिचित छौँ । न त अर्थतन्त्रप्रति सचेत नै छौँ । नेपालमा पनि मुलुकको आर्थिक समस्याको समाधानका लागि भुटानको खुसी अर्थशास्त्र र थाइल्याणको सफिसियन्सी इकोनोमी जस्ता बौद्ध अर्थशास्त्रको सान्दर्भिकताको विषयमा अध्ययन अनुसन्धान गरिनु जरुरी छ । अर्थ मन्त्रालय र लुम्बिनी विश्वविद्यालयले यसलाई उच्च प्राथमिकता दिनु सान्दर्भिक ठहर्छ । शैक्षिक एवम् अनुसन्धानात्मक क्षेत्रमा समेत बौद्ध अर्थशास्त्र विषयलाई मुख्य प्राथमिकता दिन सक्नुपर्दछ । यसो गर्न सके मात्र नेपालले पनि बुद्धका विचारहरू मिश्रित नविनतम् आर्थिक दृष्टिकोण दिन सक्दछ । यसले मुलुकको विकासमा समेत कोषेढुङ्गा सावित हुन सक्छ । तर, यसको लागि सरकार आर्थिक मामलामा गम्भिर बन्नु पर्दछ । राजनैतिक दलहरूमा पनि बुद्ध, अर्थशास्त्र र विकासबारे सचेतना आवश्यक छ ।