Butwal Today

नेपाल र दक्षिण कोरिया बीच व्यापार र लगानी प्रवर्द्धन सम्झौतामा हस्ताक्षर

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ४ पुस।

नेपाल र दक्षिण कोरिया बीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन फ्रेमवर्क (टीआईपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङले हस्ताक्षर गरेका हुन्।

सोलमा बिहीबार आयोजित एक समारोहमा दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्धको ५० वर्ष पूरा हुने अवसरमा यो सम्झौतामा हस्ताक्षर भएको हो।

मन्त्री भण्डारीले टीआईपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरूले नेपालमा जलविद्युत, अटोमोबाइल एसेम्बलिङ लगायतका क्षेत्रहरूमा लगानी गरिरहेको जानकारी दिएका छन्।

टीआईपीएफ सम्झौताले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ गति दिने र सौहार्दपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास जनाइएको छ।

कार्यक्रममा नेपाल र कोरियाका उद्योगी र व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको अवसर र वातावरण बारे प्रस्तुतीकरण गरेका थिए। यसैगरी, उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति र सुधारका विषयमा जानकारी दिए।