© २०२३
काठमाडौं।
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले जानकारी दिएका अनुसार, चालू आर्थिक वर्षको चार महिनामा ५०९ प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। २०८१ साउनदेखि कात्तिक मसान्तसम्म प्रहरीका ५ सय ९ कर्मचारीले जागिर छाडेका बताए।
साउनदेखि कात्तिकसम्म १,११५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको छ, जसमा ७६८ वटा फर्स्योट भएको अधिकारीले उल्लेख गरे।
प्रहरी भवन र युनिट
यस अवधिमा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन्। दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ मेश भवन तयार भएका छन्। हाल ४२१ प्रहरी युनिटले अन्य निकायका भवनमा कार्यालय सञ्चालन गरिरहेका छन्।
अपराध र अपराधी गतिविधिमा वृद्धि
चार महिनामा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। यी घटनामा बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटनाहरू सबैभन्दा बढी छन्। चार महिनामा बैंकिङ कसुरका ४,३५९ उजुरी दर्ता भएका छन्। चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने आर्थिक अपराध प्रहरीको लागि ठूलो चुनौती बनेको तथ्यांकले देखाउँछ।
यसो मात्र होइन, चार महिनामा १०९ हत्याका घटना र ३८२ हत्या प्रयासका उजुरी पनि दर्ता भएका छन्। अपहरणका ६५ उजुरी र जबरजस्ती करणीका ८२३ घटनाहरू पनि प्रहरीमा दर्ता भएका छन्।

समाजमा बढ्दो आत्महत्या
समाजमा आत्महत्या गर्नेहरूको तथ्यांक पनि डरलाग्दो छ। चालू आर्थिक वर्षको चार महिनामा २,२३६ जनाले आत्महत्या गरेका छन्, जसले मानसिक स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीमा सुधारको आवश्यकता औंल्याएको छ।