© २०२३
गैंडहवा, ४ पुस ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष पौडेलले विद्यालयको भौतिक पूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षाकोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेल मैदान, सुरक्षित कम्पाउण्ड , मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) प्रत्येक कक्षामा सिकाइ चमेना गृह, शिक्षक तथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्ने बताए । अध्यक्ष पौडलले अनुशासन नै बिद्यार्थीहरुको प्रमुख गहना रहेको बताए । अनुशासित भइ खेल खेल्न र रेफ्रीहरुलाई योग्यताको आधारमा बस्तुनिष्ठ मुल्यांकन गरी खेल खेलाईदिन उनले आग्रह गरे ।
कार्यक्रममा पालिका पुर्व अध्यक्ष बच्चुलाल केवटले राष्ट्रपति रनिशिल्डबाट खेल प्रदर्शन गरेर अगाडि बढ्न सम्पुर्ण विद्यार्थीमा शुभकामना दिए ।
गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा निजी बिद्यालयको तर्फबाट राम लाल लोध, सामुदायिक बिद्यालयबाट रामजी प्रसाद आचार्य, जसपाका शिव कुमार यादव, लोसपाका रामकिसुन राय, वडा नं. ५ का अध्यक्ष बिजय कुमार शर्मा, नेकपा माओवादी केन्द्रका दान बहादुर घर्ती, जनमत पाटीका रामदेव यादव, नेकपा एमाले गैडहवा गाउँ कमिटी अध्यक्ष तिलक रिजाल, नेपाली कंग्रेस क्षेत्रीय सभापति उसिउल्ला मुसलमान लगायतले पालिकाले गरेका हरेक काम समाबेशी रहेको बताउदै खेलकुद क्षेत्रमा पालिकालाई अगाडि बढ्न शुभकामना दिए । कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक बिजकुमार चाई, जनकल्याण माध्यमिक बिद्यालयका प्राचार्य सञ्जय यादवलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २२ वटा सामुदायिक बिद्यालय, १५ वटा संस्थागत बिद्यालय र ८ वटा धार्मिक विद्यालय अर्थात मदरसाको सहभागिता रहेको थियोे । कार्यक्रममा बिद्यार्थीले मार्चपाससंगै कार्यक्रमको बिचबिचमा नृत्य समेत प्रस्तुत गरेका थिए । खेलहरु वडा नं ५ स्थित सिद्धार्थ गौतम बुद्ध आधारभूत विद्यालय परिसको खेल मैदानमा हुनेछन ।