© 2026
काठमाडौं, ४ पुस ।
नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम फेरि सुरू भएको छ। ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको परिस्कृत रूप ‘बन्दैछ नेपाल’ नामक नयाँ कार्यक्रम बुधबार बेलुकी नेपाल टेलिभिजनमा पहिलो पटक प्रशारण भएको हो।
कार्यक्रमका प्रस्तोता हास्य कलाकार राजा राजेन्द्र पोखरेल रहेका छन्। पोखरेलले कार्यक्रममा विकास परियोजनाहरूको प्रगति र जनताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने छन्।
कार्यक्रमको पहिलो भागमा काठमाडौं-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा भएका प्रगति बारे चर्चा गरिएको थियो। यस कार्यक्रमको उद्देश्य निराशालाई चिर्ने र निर्माण भइरहेका प्रमुख विकास परियोजनाहरूलाई प्राथमिकता दिने रहेको पोखरेलले सेतोपाटीसँग भने।
‘बन्दैछ नेपाल’ कार्यक्रम सातामा एकपटक प्रशारण हुनेछ र यो असार मसान्तसम्म निरन्तर प्रशारण हुने तय गरिएको छ। कार्यक्रम नेपाल टेलिभिजनले नै उत्पादन गरेको हो।
यो कार्यक्रम सुरुमा रवि लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सञ्चालन गरेका थिए, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा वासुदेव शर्मा (बविन) ले सञ्चालन गरेका थिए। पुनः केपी ओली प्रधानमन्त्री हुँदा मनोज पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए। अब यो कार्यक्रम पोखरेलको प्रस्तुति र प्रधानमन्त्रीसँगको संवादका साथ नयाँ ढंगले सञ्चालन हुँदै छ।