© 2026
काठमाडौं, २ पुस ।
त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले सेवा सुविधामा सुधारको माग गर्दै उपकुलपति कार्यालय अगाडि धर्ना दिएका छन्। कर्मचारी संघका अध्यक्ष छत्र कार्कीका अनुसार, उनीहरूले ५ गतेसम्म प्रतिदिन १ घण्टा धर्ना दिने निर्णय गरेका छन्।
कर्मचारीहरूको मुख्य मागमा कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करार कर्मचारीलाई स्थायी बनाउनुपर्ने, नेपाल स्वास्थ्य सेवा ऐनअनुसार नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि गर्नु, र रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु समावेश छ। साथै, लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीलाई पदोन्नति दिनुपर्ने, संचित विशेष तलवी बिदा रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, र विगतमा खोसिएका सेवा सुविधाहरू फिर्ता दिनुपर्ने पनि माग गरिएको छ।
कर्मचारीहरूले ज्यामी र ज्यालादारी कर्मचारीको समस्यासमेत समाधान गरी उनीहरूको सेवा सुनिश्चित गर्नुपर्ने पनि जोड दिएका छन्। छत्र कार्कीले भने, “कर्मचारीको माग सिनेटमा प्रस्तुत भएको छ, तर कार्यान्वयन नभएपछि हामी आन्दोलनमा आएका हौं। कर्मचारीको हितमा रहेका यी मागहरू पूरा हुनु पर्छ।”
यसअघि, २७ मंसिरमा त्रिविको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पनि कर्मचारीहरूले नाराबाजी गरेका थिए।