Butwal Today

संगीतकार एवं तबलावादनका उस्ताद जाकिर हुसेनको ७३ वर्षको उमेरमा निधन

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौँ।

भारतीय प्रसिद्ध तबलावादक एवं संगीतकार उस्ताद जाकिर हुसेनको ७३ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ। उनले अमेरिकाको सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा आफ्नो अंतिम श्वास लिएका थिए। उनी कलेजोसम्बन्धी समस्याबाट ग्रस्त थिए।

उस्ताद जाकिर हुसेनले आफ्नो अद्वितीय तबलावादनले संगीत क्षेत्रलाई नयाँ दिशा दिएका थिए र चारपटक ग्रामी अवार्ड जितेर विश्वभर प्रसिद्धि प्राप्त गरेका थिए। भारतीय र अन्तर्राष्ट्रिय कलाकारहरूसँगको सहकार्यमा उनले विभिन्न संगीत शैलिमा उत्कृष्ट योगदान दिएका थिए।

उनले सन् २०१८ मा सार्वजनिक भएको ‘मन्टो’ फिल्म र सन् २००२ मा बनेको ‘मिस्टर एन्ड मिसेस ऐयर’ जस्ता चर्चित फिल्मका लागि संगीत तयार गरेका थिए। उनले भारतीय शास्त्रीय संगीतको संरक्षण र प्रवर्धनका लागि पनि ठूलो योगदान पुर्‍याएका थिए।

उन्हे भारत सरकारबाट सन् १९८८ मा पद्मश्री, सन् २००२ मा पद्म भूषण र सन् २०२३ मा पद्म विभूषण जस्ता उच्चतम सम्मान प्राप्त गरेका थिए। २०७५ मंसीरमा, काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा उनले प्रस्तुति दिएका थिए।