काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलिका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालयमा लिइएको हो।
८५ वर्षीय सिंह लामो समयदेखि आन्द्रासम्बन्धी समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा बसेका थिए र गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। त्यसपछि उनले आफ्नै निवासमा बस्न थालेका थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर उनले तत्कालीन काठमाडौं नगरपालिकाका मेयरको जिम्मेवारी सम्हालेका थिए। पञ्चायत व्यवस्थापछि काठमाडौंका पहिलो मेयरका रूपमा कार्यगर्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।