© २०२३
किभ ।
रूसले युक्रेनको उर्जा पूर्वाधारमा व्यापक आक्रमण सुरु गरेको छ। यस आक्रमणले युक्रेनलाई आपतकालीन बिजुली कटौती लागू गर्न बाध्य तुल्याएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी ऊर्जा मन्त्री जर्मन हलुश्चेन्कोले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “शत्रुले आफ्नो आतंक जारी राखेको छ, फेरि एक पटक युक्रेनको ऊर्जा क्षेत्र ठूलो आक्रमणमा परेको छ।”
आक्रमणबाट भएको क्षतिको बारेमा भने स्पष्ट विवरण आउन सकेको छैन। यद्यपि, युक्रेनी अधिकारीहरूले आसपासका क्षेत्रका मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका छन्।
युक्रेनको वायुसेनाले देशका केही भागहरूमा ब्यालिस्टिक र क्रुज मिसाइलहरूको खतराको चेतावनी दिएको पछि, राजधानी किभका सडकहरू शुक्रबार बिहान अधिकांश खाली गरिएको थियो।
युक्रेनी ऊर्जा ग्रिड अपरेटर “युक्रेनेर्गो” ले पनि पुष्टि गरेको छ कि देशका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ, जसका कारण देशभर आपतकालीन बिजुली कटौती गर्नुपरेको छ। यसले युक्रेनी जनतालाई अन्धकारमा बस्न बाध्य बनाएको छ।
रूसले यस वर्ष युक्रेनको उर्जा प्रणालीमा १२ ठूला आक्रमण गरेको छ, जसले देशको उर्जा पूर्वाधारलाई गम्भीर क्षति पुर्याएको छ।