Butwal Today

माओवादी अब ०६४ कै शक्ति बन्छ : प्रचण्ड

३० मंसिर २०८१, आइतबार
अ+
अ-

बुटवल, ३० मंसिर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै भएको दावी गरेका छन् । रुपन्देहीको तिलोत्तमामा शनिवार आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले–’ पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन ।प्रतिक्रियावादी जाली झेलीहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं।’ उनले माओवादी केन्द्र अव ०६४ सालकै शक्तिमा फर्किने संकेत देखिएको दावी गरे ।

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए ।आफु सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

कार्यक्रममा जनमुक्ति पार्टी माओवादी केन्द्रमा समाहित भएको घोषणा गरियो । घोषणापछि बोल्दै जनमुक्ति पार्टीका महासचिव राम परियारले प्रचण्ड एक युगपुरुष रहेको भन्दै उहाँको नेतृत्वमा अब देश समाजवादतर्फ उन्मुख हुने बिचार ब्यक्त गरे । माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनालले माओवादीले भ्रष्टाचारबिरुद्धको अभियान थालेकाले सत्ताबाट हट्नुपरेको बताउँदै अब जनताको साथ लिएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे ।

माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा माओवादी नेताहरु तिलक परियार, सोनिया यादव, जिल्ला संयोजक निर्मल जिसी लगायतले धारणा राख्दै माओवादी केन्द्रले आगामी चुनावमा सहज जित हासिल गर्ने विश्वास ब्यक्त गरे ।