© २०२३
‘महिला अधिकार’ मानव अधिकारको अभिन्न अङ्ग हो । जसले महिला र पुरुषबीचको समानता, स्वतन्त्रता तथा भेदभावरहित व्यवहारलाई प्रोत्साहन गर्दछ । प्राचीन समाजमा महिलाहरूलाई पुरुषको तुलनामा कमजोररूपमा हेरिन्थ्यो । उनीहरूलाई प्रायः सम्पत्तिको रूपमा लिने प्रचलन थियो । तर, १८ औं शताब्दीमा आइपुग्दा फ्रान्सेली क्रान्तिसँगै मानव अधिकारको अवधारणा अघि बढ्यो, जसले गर्दा महिलाहरूले पनि पुरुषसरह समान अधिकारका लागि आवाज उठाउन थाले । सन् १७९१ मा आइपुग्दा ओलम्प डी गुजले “महिला अधिकारको घोषणा” प्रकाशित गरिन्, जसमा पहिलोपटक महिलाहरूको समानताको मुद्दा उठाइएको थियो । १९ औं शताब्दीमा महिलाहरूको शिक्षा तथा सम्पत्तिको अधिकार र राजनीतिक सहभागितामा समानताको माग हुन थाल्यो । यो अवधिमा युरोप र अमेरिकाजस्ता देशहरूमा महिला अधिकारको आन्दोलन बलियो हुँदै गयो । सन् १९४८ मा आईपुग्दा संयुक्त राष्ट्रसंघले सार्वभौम मानव अधिकार घोषणा जारी ग¥यो, जसले महिलालाई पुरुषसरह समान मानव अधिकार प्रदान ग¥यो । यस घटनापछि महिलाहरूका लागि थप अधिकारको विकासका निम्ति विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू र नीतिहरू बन्न थाले ।
नेपालमा भने संविधानको विकासँगै महिला अधिकारको अवधारणा पनि विकसित हुँदै आएको पाइन्छ । नेपालको संविधान २०७२ सम्म आइपुग्दा महिला अधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरिएको छ । संविधानको धारा ३८ मा महिलाहरूले लैङ्गिक आधारमा कुनैपनि भेदभावविना सम्मानपूर्वक जीवन बिताउन पाउने अधिकारको व्यवस्था गरिएको छ । विवाह र पारिवारिक जीवनमा स्वतन्त्रता, शिक्षा र स्वास्थ्यको पहुँचमा अधिकारजस्ता कुराहरूको सुनिश्चितता गरिएको छ । यसका साथै महिला हिंसा निवारण ऐन, २०६७ मार्फत् महिलामाथि हुने हिंसा रोकथामको कानूनी व्यवस्था गरिएको छ ।
महिला र बुद्धको दृष्टिकोणः
बुद्धकालीन समाज पितृसत्तात्मक मानसिकताबाट संक्रमित थियो । सो समयमा समाज धर्म र वर्णको नाममा विभक्त थियो । यतिमात्र होइन, धनी र गरीब बीच निकै ठूलो खाडल थियो । उनीहरूमा गरिने व्यवहार पनि विभेदपूर्ण थियो । गरीबहरूलाई धनीको दास–दासी बनाइन्थ्यो । राज्यमा गणीका राख्ने प्रचलन पनि थियो । बुद्धकै समयमा कोशल नरेश प्रसेनजित आप्mनो पुत्री जन्मिएको खबरले निकै दुःखी भएका थिए । तत्कालीन अवस्थामा राजासमेत पुत्री जन्मिएकोमा दुःखी भएको घटनाबाट आम मानिसमा महिलाप्रतिको दृष्टिकोण के कस्तो थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ । बुद्धले प्रसेनजितलाई छोरी पनि ज्ञानी गुणी बनेर छोरोभन्दा राम्रो र गुणी सन्तान बन्न सक्दछन् भन्ने कुरा सम्झाएका थिए । बौद्ध धर्मले नारीहरूमाथि लिएको सकारात्मक सोच, नारीलाई दिएको स्थान र त्यहाँभित्र भएको आदर्शवादी कुराहरूले तत्कालीन समयमा नारीहरूको सम्मान उच्च बनाउँदै लगेको थियो । बुद्धले आफ्नी आमा प्रजापति गौतमी र पत्नी यशोधराप्रति उच्च सद्भाव राख्दथे । त्यसैले आनन्दको आग्रह तथा आमा र पत्नीको इच्छालाई मध्यनजर गर्दै महिलालाई पनि संघमा प्रवेश गर्ने अधिकार दिए । धनी घरानाका रानीहरूलाई मात्र नभएर नगरबधु, गरीब, दासी र विभिन्न जातजातिका करीब ५०० नारीहरू एकैपटक भिक्षुणी बनेर संघमा प्रवेश गरेका थिए । यसरी बुद्धले महिलालाई पनि अवसर दिएको देखिन्छ । बौद्ध धर्ममा नारी पुरुष, जातजातिजस्ता विभेदको दिवार नभएको, शुद्र र नारीमा कोही निसिद्ध छैनन्, बहुजन हिताय, बहुजन सुखाय धर्मको सूत्र मानिदै आएको थियो । बौद्ध धर्मले मध्यममार्गी बाटो अपनाएकोले पनि त्यसबेला धेरै स्त्रीहरूको लगाव बौद्ध धर्ममा बढ्दै गएको थियो । यस कुरालाई थेरी गाथाले पनि प्रष्ट पार्दछ, जहाँ धेरै महिलाहरू स्वतन्त्ररूपमा बौद्ध धर्मसँग जोडिएर अर्हत् बन्न सफल भएका थिए । प्रबज्जित भएका नारीहरूलाई भिक्षुणी भनिन्थ्यो र उनीहरूको स्थान उपसम्पदाप्राप्त भिक्षुहरूको समान हुने गर्दथ्यो । ‘सिंगलवाद सूत्र’ मा बुद्धले स्वास्नी मानिसलाई पुरुषको सर्वाेत्तम मित्र भनेका छन् । बुद्धको समयमा नारीहरूले समेत बुद्ध धर्मको प्रचारका निम्ति सहयोग गरेको कुरा उल्लेख छ । आम्रपालीले त बुद्धलाई आम्रबन विहार नै दान गरेकी थिइन् । बुद्धले छ वर्षसम्म दुश्करचर्या गर्दा पनि ज्ञान प्राप्त हुन नसकेपछि सुजाताको हातबाट खिर ग्रहण गरेका थिए । त्यसपछि शरीरको भोक मेटियो र उनमा ज्ञान प्राप्तिको आँखा खुलेको थियो । यी दृष्टान्तहरूले बुद्धको जीवनमा नारीहरू कमजोरी नभएर सबलता सिर्जना गर्ने सहयोगी साथी भएको प्रमाणित गर्दछ ।
महिला अधिकार र बौद्ध दृष्टिकोणः
बौद्ध धर्मले समानता र करुणाको सिद्धान्तलाई केन्द्रमा राखेको छ । त्यसैले यस धर्ममा मानव मानववीच कुनैपनि किसिमको विभेदको गन्ध छैन । विभिन्न जात–जाति, महिला–पुरुष सबैको अधिकारका सन्दर्भमा सचेत हुन र तिनको सम्मान गर्न बौद्ध धर्मले सिकाउँछ । अतः बौद्ध धर्ममा महिला अधिकार पनि महत्वपूर्ण पाटोको रूपमा आउँछ ।
बौद्ध दर्शनले कर्म सिद्धान्तलाई प्राथमिकता दिन्छ । कर्म अनुसार विभिन्न योनीमा जन्म लिने क्रममा एउटै चित्तले मानिस, पशुपंक्षीलगायतका प्राणी भएर जन्म लिने तर्क बौद्ध दर्शनमा गरिन्छ । मानिसको यही जन्मजन्मान्तरको यात्रालाई बुद्धले भवचक्र (दुःखको कारण) भनेका हुन् । बौद्ध धर्मदर्शनको अभिष्ट नै दुःखको अन्त्य गर्नु हो । बौद्ध धर्ममा निर्वाणका निम्ति प्राणीहरूमध्ये मानव योनी सबैभन्दा उत्कृष्ट मानिन्छ । यहाँ मानव योनीलाई उत्कृष्ट मानिएको हुँदा बौद्ध धर्ममा लिङ्गका आधारमा महिला–पुरुषबीच विभेद गरिएको छैन । यसका साथै बौद्ध साहित्यमा पनि लैंगिक समानताको वकालत गरिएको पाइन्छ । अतः बौद्ध दृष्टिकोणमा महिला पनि पुरुषसरह समान छन् । तत्कालीन समयमा विभेदको चरम शिकार बनेका महिलाहरूलाई बुद्धले आध्यात्मिक जीवनमा पुरुषसरह नै स्थान दिए । उनले महाप्रजापती गौतमीसँगै एकैपटक ५०० महिलाहरूलाई सङ्घमा प्रवेश गराई भिक्षुणी संघको स्थापनाका निम्ति अनुमति दिएर महिलाहरूलाई निर्वाण प्राप्तिको मार्गमा अग्रसर हुने अवसर दिए । यस घटनालाई बौद्ध धर्ममा महिलाहरूको समान आध्यात्मिक अधिकारको उदाहरण रूपमा लिइन्छ । बुद्धले दुःख निरोधका उपायका निम्ति अष्टाङ्गिक मार्ग बताएका छन् । यस दृष्टिमा सबै मानिसहरू समान छन् । यस मार्गले शील, समाधि र प्रज्ञा बुद्धिमत्तालाई आत्मसात गर्न सबैलाई प्रोत्साहित गर्छ । यस्तो मार्गमा हिड्नका निम्ति महिला–पुरुष दुबैलाई समान अवसर र प्रेरणा दिइएको छ । यस प्रकार बौद्ध धर्ममा महिलाहरूलाई पनि आध्यात्मिक मार्गमा अघि बढ्न र ज्ञान प्राप्त गर्न समान अधिकार दिइएको प्रष्ट हुन्छ । बौद्ध धर्मको मूल शिक्षाले महिलाको आध्यात्मिक समानतालाई मान्यता दिएको छ । बुद्ध स्वयम् भन्दछन्– “धम्ममा जन्म र लिङ्गको आधारमा कसैको उच्च या नीचता हुँदैन ।” यस सिद्धान्तले महिलाहरूको समान अधिकारको हकको वकालत गर्दछ । बौद्ध धर्ममा महिलाहरू पनि पुरुषसरह अर्हत् प्राप्त गर्नसक्ने कुरा बताइएको छ । थेरीगाथामा यस्ता कैयौँ महिलाहरूको कथाहरू उल्लेख गरिएको छ, जसले अर्हत् (मोक्ष) प्राप्त गरेका थिए ।
बौद्ध धर्ममा महिलाहरूलाई सम्मानपूर्ण समाजिक स्थान दिएको छ । बुद्धले आफ्नो अनुयायीहरूलाई महिलाहरूलाई सम्मान र समानताका साथ व्यवहार गर्न सिकाएका थिए । पञ्चशीलमध्येको एक शील ‘व्यभिचार नगर्नु’ भन्ने छ । यसले महिलाको सुरक्षा र सम्मानलाई प्राथमिकता दिएको देखिन्छ । बुद्धले गृहस्थ जीवनमा महिलाले महत्वपूर्ण भूमिका खेल्ने र उनीहरू परिवारको केन्द्रमा रहेको बताएका छन् । उनले गृहस्थ महिलाहरूको भूमिकालाई सम्मानका साथ स्वीकार गरेको पाइन्छ । बौद्ध धर्मले अहिंसालाई सबैभन्दा उच्च स्थानमा राखेको छ । महिलामाथि हुने कुनैपनि प्रकारको हिंसा वा भेदभाव बौद्ध दृष्टिकोणमा स्वीकार्य मानिदैन । बौद्ध ग्रन्थहरूमा महिलालाई सम्मान र समानताका साथ व्यवहार गर्नुपर्ने शिक्षा दिइएको छ । यसैले, महिलाविरुद्ध हुने हिंसा र उत्पीडन बौद्ध धर्मको सिद्धान्त विपरीत रहेको प्रष्ट पार्दछ । बज्रयान बौद्ध धर्ममा वज्रयोगिनी, तारा र सिंहमुखाजस्ता बौद्ध छविहरूलाई पूजा गर्ने गरिन्छ, जुन महिलाहरूकै रूपमा प्रतिबिम्बित हुन्छन् । महिला योगिनीहरू जस्तै यशे छोग्याल आदि महिला व्यक्तित्वहरू पूर्णरूपमा बुद्धत्व प्राप्त गर्ने क्षमता भएका मानिन्छन् । अतः महिलाहरूको उच्चतम् आध्यात्मिक उपलब्धि प्राप्त गर्ने समान सम्भावन रहने कुराको पुष्टि गर्दछ ।
निष्कर्षः
पितृसत्तात्मक मानसिकताबाट संक्रमित बुद्धकालीन समाजमा बौद्ध धर्मले नारीहरूमाथि लिएको सकारात्मक सोच, नारीलाई दिएको स्थान र त्यहाँभित्र भएको आदर्शवादी कुराहरूले नारीहरूको सम्मान उच्च बनाउँदै लगेको प्रष्ट हुन्छ । महिलालाई संघमा प्रवेश गर्ने अधिकार, महिला पुरुष सबैलाई समान दृष्टिकोणले लिइएको बहुजन हिताय, बहुजन सुखायको मूल मन्त्र तथा महिलाहरू स्वतन्त्ररूपमा बौद्ध धर्मसँग जोडिएर अर्हत् बन्न सफल भएका दृष्टान्त आदिले बौद्ध धर्ममा महिला अधिकार सुरक्षित रहेको प्रष्ट हुन्छ । महिला–पुरुष सबैको अधिकारका सन्दर्भमा सचेत हुन र तिनको सम्मान गर्न बौद्ध धर्मले सिकाउँछ । अतः बौद्ध धर्ममा महिलाहरूको अधिकार पनि महत्वपूर्ण पाटोको रूपमा आएको देखिन्छ । बौद्ध धर्ममा मैत्री, करुणा, मुद्दिता र उपेक्षालाई चर्तुब्रम्हविहार मानिएको छ । यस्ता भाव विकास गरी सबै प्राणीको हित गर्दै उनीहरूमा समभाव राख्नसक्नु नै बौद्ध धर्म–दर्शनको सही अभ्यास हो । त्यसैले बौद्ध धर्ममा महिला अधिकारलाई पनि स्थान दिइएको बुझ्न सकिन्छ ।