Butwal Today

बुटवलमै जन्मिएको बैंकिङ शक्तिः शाइन रेसुङ्गाको उदय र उचाइ

२९ मंसिर २०८१, शनिबार
अ+
अ-

बुटवल, २८ मङ्सिर ।

लुम्बिनी प्रदेशको औद्योगिक केन्द्र । यही शहरमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र गुल्मीमा खुलेको रेसुङ्गा बैंकको मर्जरपछि बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आज मुलुककै अग्रणी विकास बैंकका रूपमा उभिन सफल भएको छ । मर्जरपछि पहिचान हराउने धेरै वित्तीय संस्थाका बीच शाइन रेसुङ्गाले भने आफ्नो अस्तित्व मात्र जोगाएन, देशभरि विशिष्ट स्थान बनाएर मोफसलमै बसेर उत्कृष्ट बैंकिङ्ग सम्भव छ भन्ने प्रमाण प्रस्तुत गर्यो ।

यस बैंकले वि.सं २०६५ फागुन ११ गते बुटवलबाट बैंकिङ्ग कारोबार सुरु गरेको थियो । चार वर्षपछि, चैत २०६९ मा गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर भएर नयाँ यात्रामा अघि बढेको बैंकले त्यसपछि क्रमशः प्युठानको गौमुखी विकास बैंक, नेपालगञ्जको भार्गव विकास बैंक र भैरहवामा केन्द्रित पूर्णिमा विकास बैंकलाई समेट्दै आफ्नो संरचना थप मजबुत बनायो । लगातारका मर्जर, विस्तार र सुदृढीकरणपछि बैंक अहिले राष्ट्रियस्तरको प्रमुख विकास बैंकको दर्जामा स्तरोन्नति भएको छ र यसबीचमा विभिन्न अवार्ड पनि हात पारेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, अध्यक्ष थानेश्वर पौडेलसहित सञ्चालक, प्रबन्धन र कर्मचारीको सामूहिक मेहनत र ग्राहकको विश्वासले शाइन रेसुङ्गालाई प्रदेशमै पहिलो र राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाएको छ । मोफसलमा बसेर पनि काठमाडौँको बैंकिङ्ग स्तरसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने धारणा शाइन रेसुङ्गाले व्यवहारमै साबित गरेको छ । सीइओ पौडेलका अनुसार बैंकले आफ्नो सुरुवाती दिनमै मर्जरपछि आइपर्न सक्ने चुनौती, सहकारी क्षेत्रमा देखिने संकट, डिजिटल प्रविधिका जोखिम र विश्वव्यापी आर्थिक उतारचढावलाई पहिल्यै आँकलन गरी दीर्घकालीन रणनीति बनाएको थियो । सोही तयारीका आधारमा बैंकले बैंकिङ्ग प्रणालीलाई क्रमशः डिजिटलाइजेसनतर्फ उन्मुख गर्दै ग्राहकमैत्री सेवा प्रवाह गरिरहेको छ ।

 मोबाइल बैंकिङ्ग एपलाई अत्याधुनिक बनाउँदै, शाखामा धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेगरी डिजिटल च्याटबटमार्फत सेवा उपलब्ध गराइएको छ । कर्जादेखि दैनिक प्रशासनिक कार्यसम्म पेपरलेस अभ्यास कार्यान्वयनमा ल्याइएको छ । बैंकले क्रेडिट कार्ड सेवा, डिजिटल बैंकिङ्ग सचेतना अभियान र साइबर सुरक्षा सम्बन्धी नियमित अभिमुखीकरण जस्ता सेवामार्फत ग्राहकलाई सुरक्षित र सहज बैंकिङ्ग वातावरण प्रदान गर्ने लक्ष्य अघि बढाइरहेको छ ।

वित्तीय साक्षरतालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै बैंकले व्यक्तिगत वित्तीय योजना, बचत, लगानी, बीमा र डिजिटल बैंकिङ्ग जस्ता विषयमा ग्राहकलाई निरन्तर अवगत गराउँदै आएको छ । सेयर बजार, म्युचुअल फन्ड र डिजिटल स्टार्टअपप्रतिको चासो बढ्दै गएको अवस्थामा जिम्मेवार लगानी गर्न प्रेरित गर्ने र आर्थिक क्षमताको विकासमा सहयोग पु¥याउने उद्देश्य बैंकको प्रमुख अभियान बनेको छ ।

सुरुवाती चरणमा ६ करोड पुँजीबाट सुरु भएको यस बैंकको हालको चुक्तापुँजी ४ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । जगेडा कोष २ अर्ब २ करोडभन्दा बढी रहेको बैंकले ६६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । बैंकको खराब कर्जा दुई प्रतिशतको हाराहारिमा सीमित छ ।

हाल बैंकसँग ८९ शाखा, एक एक्सटेन्सन काउन्टर र १६ एटीएम सञ्चालनमा छन् । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ भने काठमाण्डौ उपत्यकामा मात्र आठ शाखा सञ्चालनमा छन्। कुल ग्राहक सङ्ख्या ४ लाख ७० हजारभन्दा बढी पुगेको छ ।

गुणस्तरीय सेवा र उत्कृष्ट व्यवस्थापनलाई मुख्य आधार बनाएको बैंकले देशको सबैभन्दा ग्राहकमैत्री विकास बैंक बन्ने लक्ष्य लिएको छ । नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुका अनुसार राजधानीबाहिर बसेर पनि राष्ट्रियस्तरको वित्तीय संस्था सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण शाइन रेसुङ्गाले पेश गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामुदायिक विद्यालयमा ई–कक्षा स्थापना, प्रोजेक्टर र कम्प्युटर उपलब्ध गराउने, विभिन्न स्थानमा वृक्षारोपण गर्ने तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यहरूलाई निरन्तरता र विस्तार गर्ने बैंकको योजना छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस १९ गते बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा साधारणसभा गर्ने निर्णय गरेको छ । सभामा गत आव २०८०÷८१ को ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस गरिनेछ । यस्तै, अन्य विकास बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरिएकाले पुस २ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनी लाभांश प्राप्त र सभामा सहभागी हुन योग्य हुनेछन् ।

मोफसलमै बसेर राष्ट्रियस्तरको उत्कृष्ट बैंक बन्न सफल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब डिजिटल प्रविधि, गुणस्तरीय सेवा र ग्राहक विश्वासलाई आधार बनाएर आगामी वर्षहरूमा अझै विस्तार र मजबुतीकरणतर्फ अघि बढ्ने लक्ष्यसहित अघि बढिरहेको छ ।