Butwal Today

वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं :

नेपालका वायुसेवा सञ्चालक सङ्घले सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रका हेलिकप्टर उडानमा लगाएको रोकको विरोध गर्दै उक्त उडानलाई निरन्तरता दिने निर्णय गरेको छ। सङ्घले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ कि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिमा रहेका हेलिकप्टरहरूले खुम्बु क्षेत्रमा उडान गरिरहेको अवस्थामा, निकुञ्जको परिपत्र पालना गर्न बाध्य छैनन्।

सङ्घका अनुसार, सदस्य वायुसेवा कम्पनीहरूले सबै कानूनी प्रक्रिया पूरा गरेर प्राधिकरणसँग अनुमति प्राप्त गरेर उडान गरिरहेका गन्तव्यहरूमा उडानलाई निरन्तरता दिनेछन्। यसअघि, सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार खुम्बु क्षेत्रमा उडान नगर्नका लागि वायुसेवा सञ्चालक सङ्घलाई पत्राचार गरेको थियो।