© २०२३
लमही, २५ मंसिर ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नवनिर्मित प्रदेश भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती मगरले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले नागरिक खवरदारी गर्ने दायित्व पत्रकारको रहेको बताए । उनले प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार र कमिकमजोरीको खवरदारी गर्न आवश्यक रहेको बताए ।
त्यस्तै सभामुख घर्तीले जनताको सुचनाको हकलाई प्राथमिकतामा राखेर नागरिकको अधिकार बोल्ने पत्रकारहरूको संस्थाको भवन निर्माण भएकोमा खुशि व्यक्त गरे । उनले प्रदेश सरकारको कामका बारेमा प्रश्नहरू पनि उठेको स्विकार गर्दै सरकारलाई पनि खबरदारी गर्न आग्रह गरे ।
सभामुख घर्तीले भवन निर्माण गरेर प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिएको बताए । उनले आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने बताए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेलले प्रदेश भवनले महासंघको जग बसाउने काम गरेको बताए । उनले नेपाली मिडियाले नै संघीयताको मुद्वा उठाएको बताउँदै प्रदेश संरचना बलियो बनाउनुपर्नेमा जोड दिए ।
नागरिकको आवाज बनाउने शक्तिका रूपमा पत्रकार महासंघलाई स्थापित गर्ने बेला आएको उनको भनाई थियो । पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति आघामी नेतृत्वको मनोनयन दर्ता र भवन उद्घाटन गरिएको थियो । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अर्घाखाँची शितगंगा नगरपालिका–८, सातमारामा भवन निर्माण गरिएको उपाध्यक्ष शुक्रश्रषि चौलागाईले बताए । भवन निर्माणका लागि प्रदेश सरकारको धेरै लगानीमा निर्माण गरिएको महासचिव विक्रम खडकाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको ७० लाख र पत्रकार महासंघको १० लाख गरि कुल ८० लाखको लागतमा २ वटा सभाहल, ५ वटा कोठा र ३ वटा बाथरूम सहित ३ तले भवन निर्माण गरिएको दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोषकुमार गुप्ताले जानकारी दिए ।