© २०२३
काठमाडौं, २४ मंसिर।
सिरियाका राष्ट्रपति बसर अल असद विद्रोही समूहको सामना गर्न नसकेपछि परिवारसहित देश छाडेर रूसको राजधानी मस्को पुगेका छन्। रूसी सरकारी समाचार एजेन्सीहरूले यस घटनालाई पुष्टि गर्दै असद र उनका परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा शरण प्रदान गरिएको जानकारी दिएका छन्।
मिडिया रिपोर्टका अनुसार, सिरियामा विद्रोही समूह हयात तहरिर अल शाम (HTAS) ले प्रमुख शहरहरू कब्जा गर्दा असदले राजधानी दमास्कस छाडेका थिए। यसबारेमा स्पष्ट जानकारी नआए पनि कतिपय स्रोतले असदको विमान दुर्घटनाको अफवाह फैलाएका थिए।
असद, जो २४ वर्षदेखि सिरियाको सत्तामा थिए, ५० वर्षदेखि असद परिवारको शासन थियो। २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण विद्रोह पछि सिरिया गृहयुद्धमा फस्दा ५ लाखभन्दा बढी व्यक्तिहरू मरेका छन् र १ करोड २० लाखभन्दा बढी विस्थापित भएका छन्, जसमा करिब ५० लाख जना शरणार्थी बनेका छन्।
बीबीसीले भने मस्कोमा असदको उपस्थितिको पुष्टि नगरेको बताएको छ।