© २०२३
काठमाडौं, २४ मंसिर ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसँग भेट गरेका छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे छलफल भएको जानकारी दिए।
रिमालका अनुसार, “आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो।”
अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा आफ्नो भ्रमणको क्रममा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए। आजै लुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका छन्।