Butwal Today

‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतारिने, सेभेन सिस सिनेमाको विरोध

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली फिल्म इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका हलमा उतारिने भएको छ। फिल्मको व्यवसाय राम्रो हुँदै गर्दा भारतीय फिल्म ‘पुष्पा २’को कारण ‘पूर्ण बहादुरको सारङ्गी’लाई केही फिल्म हलहरूले शोमा अन्याय गरेको भन्दै निर्माण संस्था सेभेन सिस सिनेमाले फिल्म हलबाट उतार्ने निर्णय गरेको हो।

सेभेन सिस सिनेमा एक प्रेस विज्ञप्ति जारी गर्दै दर्शकहरूलाई माया र समर्थनका लागि आभार व्यक्त गरेको छ र प्रदर्शन रोक्नु परेकोमा दुःख प्रकट गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय केही फिल्म हलहरूले फिल्मलाई नजरअन्दाज गरेको व्यवहारका कारण यो निर्णय गर्न बाध्य भएका हौँ।”

‘पूर्ण बहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि निर्माण संस्थाले विरोध गर्ने अवस्था आएको र भविष्यमा दर्शकको अपेक्षालाई ध्यानमा राखेर नयाँ फिल्मसहित पुनः हलमा फर्किने वाचा गरिएको छ।

यस फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ र विनोद न्यौपाने जस्ता कलाकारहरूको अभिनय छ। फिल्मले बाबुले छोराको भविष्यका लागि गरेको संघर्ष र त्यागको कथा उठाएको छ। यसका निर्देशक सरोज पौडेल हुन्।