© २०२३
बुटवल, २३ मंसिर । स्केट खेलप्रति बालबालिकाहरुलाई रुचि जगाउदै अध्ययनसिल बनाउन रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा अब पुस्ताकालय समेत स्थापना गरिने भएको छ । पाच वर्षअघि स्केट एड नेपालले डिङगरनगरमा स्केट पार्कको पूर्वाधार निमार्ण गरेको थियो । दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्तकालय भवन निर्माण गर्ने भएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । ‘जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्तकालय भवन निर्माण गर्न लागेको हो ।’— उनले भने । पुस्तकालय निमार्ण गर्न करीब ३५ लाख रुपैया अनुमान गरिएको उनले बताए ।
बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञानबृद्धिमा पुस्तकालयबाट सहयोग हुने पहाडीले बताए । पुस्तकालयमा विश्वमा खेलिदै आएको खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तकहरु राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकाहरुलाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना तयार गरिने उनले बताए । पहिलो चरणमा स्केट पार्क (खेल मैदान) बनाइएको र अब दोस्रो चरणमा पुस्तकालय भवन निर्माणको योजना शुरु भएको भन्दै उनले पार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन समेत सफल भएको दाबी गरे । स्केट एड नेपालको तिलोत्तमा स्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका यम हादुर कामु र अभिषेक परियार उत्कृष्ट १६ मा पर्न सफल भएका थिए । रुपन्देहीबाट शुरु भएको स्केट पार्क (खेलमैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको छ ।
जापनिज स्केटर तथा सहयोगदाता सिमनले आफूले नेपालका बालबालिकाहरुलाई स्केटमा आर्कषित गर्न र अध्ययनमा सहयोग हुने गरि पुस्तकालय भवन निर्माणमा थालेको बताए । पुस्तकालय भवन निर्माणका लागि जापानमा अभियान चलाएर सहयोग संकलन गर्ने उनले बताए । स्केट एड नेपालका सचिव विजय तामाङले स्केट पार्कमा ४० जना बालबालिकाहरूले निशुल्क स्केट सिक्दै आएको बताए । पुस्तकालयमा निशुल्क सेवा लिन पाईने भन्दै उनले स्केट खेलसँगै बालबालिकाहरुलाई अहिले पनि कोर्सको किताब, कापी र खेलकुदका सामाग्री समेत दिने आएको उनले बताए । तिलोत्तमा रहेको स्केट पार्कमा दक्षिण एसियाली स्तरीय प्रतियोगिता पनि हुँदै आएको छ ।
२०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । यसका साथै यहाँ विभिन्न देशका स्केटरहरु आएर स्वयमसेवी रुपमा निशुल्क सेवा दिन आउने गर्छन् । अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्कका मेटिश जोथन स्वयसेवाका लागि आएका छन् ।