© 2026
बुटवल, २३ मंसिर । रुपन्देहीमा सम्पन्न तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सिम्रिक युवा क्लब, बुटवलले चुमेको छ । स्व. बस बहादुर शेरपुजा पुन तथा स्व. दिलकुमारी शेरपुजा पुन स्मृतिमा सम्पुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा शनिबार भएको फाइनल खेलमा सिम्रिकले चाँदनी युवा क्लब, दानापुरलाई ४–० ले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि विजेता सिम्रिक नगद २,२२,२२२ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता चाँदनी भने नगद १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
एकतर्फी खेलमा सिम्रिकका कप्तान अरुण चौधरी, सन्दिप चौधरी, निर बहादुर थापा र मिलन आले मगरले गोल गरे । फाइनलमा म्यान अफ दि म्याच सिम्रिकका सन्दिप चौधरी घोषित भए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सिम्रिकका भिम पुन बन्दा उदीयमान खेलाडी चाँदनीका निशान क्षेत्री बने । सर्वाधिक गोलकर्ताको पुरस्कार सिम्रिकका मिलन आले मगर, सर्वोत्कृष्ट खेलाडी पनि सिम्रिक कै सुरज चौधरी घोषित भए ।
एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई मुख्य प्रायोजकहरु हिर पुन, अर्जुन पुन, आयोजक क्लबका अध्यक्ष अबिर पुन, तिलोत्तमा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, खेल संयोजक अशोक पुनले पुरस्कार वितरण गरे । गत मंसिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका गरी १६ टिमहरुले भाग लिएका थिए ।