© २०२३
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
आइतबार कास्की अदालतको न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने निर्णय सुनाएको हो। सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्ने माग गरे पनि अदालतले चार दिनको अनुमति मात्र दिएको छ।
लामिछानेलाई म्याद सकिएपछि आइतबार अदालतमा पेश गरिएको थियो। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेलाई कास्की प्रहरी अनुसन्धान गरिरहेको छ।
उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार अनुसन्धान भइरहेको छ। यससँगै लामिछानेलाई काठमाडौँ, बुटवल र चितवनका सहकारी ठगी घटनामा पनि संलग्न भएको आरोपमा बयानका लागि सोधपुछ गरिएको छ।