© २०२३
वि.सं. २०१४ सालमा पाल्पामा प्राथमिक शिक्षक तालिम घुम्ती टोलीको रूपमा शिक्षण सञ्चालन गरिएको थियो । वि. सं. २०१८ सालमा यसलाई श्री ५ को सरकार, शिक्षा मन्त्रालयद्वारा सञ्चालित कलेज अफ एजुकेशन’ अन्तर्गत ’नर्मल स्कूल’को नामले स्थायित्व प्रदान गरिएको थियो । वि.स.२०२८÷ २९ सालसम्म सेवाकालीन तथा पूर्व सेवाकालीन नर्मल तालिम प्रदान गरेको यो स्कूल २०२८÷२९ सालदेखि भने शिक्षा शास्त्र अध्ययन संस्थान अन्तर्गत पाल्पा क्याम्पसको रूपमा परिणत भएको थियो । तत्पश्चात २०३०÷३१ मा उक्त क्याम्पस पाल्पाबाट सरेर बुटवलमा जन–सहभागिताद्वारा सञ्चालित लुम्बिनी कलेज तथा बुटवल नगर पञ्चायतद्वारा सञ्चालित निःशुल्क अनिवार्य प्राथमिक शिक्षा योजना अन्तर्गतको केन्द्र नं २ को भवन तथा मैदानमा क्याम्पसका रूपमा स्थापित भयो । शुरुमा पूर्व–व्यावसायिक शिक्षाको सेवाकालीन तथा पूर्व सेवाकालीन शिक्षक तालिम कार्यक्रम सञ्चालन भयो । २०३१÷३२ देखि प्राथमिक शिक्षक तालिममा भर्ना लिन सुरु गरियो । वि.स. २०३३।३४ मा शिक्षा शास्त्र अन्तर्गतको प्रविणता तहको व्यवस्था भयो । २०४०÷४१ को शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रमाणपत्र तह संचालनको स्वीकृति पाएपछि बुटवल बहुमुखी क्याम्पसको रुपमा परिवर्तन भयो । २०४१÷ ४२ सालदेखि आइएस्सी पनि पढाई सुरु भएको थियो । २०५३ सालसम्ममा ४ वटा संकायमा स्नातक तह शुरु भैसकेको थियो भने ६० को मध्यसम्म आइपुग्दा बुटवल बहुमुखी क्याम्पसले स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्न शुरु गरिसकेको थियो । क्याम्पसको यो शैक्षिक यात्रा अहिले अझ अब्बल भएर गएको छ । शैक्षिक उन्नयनमा पश्चिम नेपालमा बुटवल बहुमुखी क्याम्पसको योगदान अतुलनीय छ नै, सामाजिक आर्थिक विकासमा समेत यो क्याम्पसको योगदान उच्च रहेको छ ।

देश जोड्ने थलो
बुटवल बहुमुखी क्याम्पस जन्मिदा सिद्धार्थ राजमार्ग पुरा भएर पोखरासम्म तन्किएको थियो अनि महेन्द्र राजमार्गले बुटवललाई पूर्वी र मध्यनेपालसंग जोड्दै पश्चिमतर्फ लम्किदै थियो । तिनाउ पश्चिममा रहेको बटौली बजार सिद्धार्थ राजमार्गको छेउँछाउँमा फैलिन सुरु गरेपनि वस्ती विकासको गति सुस्त थियो । मानिस बस्ने थलोको रुपमा बुटवलले मानिसलाई आकर्षित गर्न सकेको थिएन । ३० को दशकको सुरुवातसंगै बुटवलमा क्याम्पस खुलेपछि यस क्याम्पसमा लुम्बिनी अन्चलका सबै जिल्लाका साथै दाङ, रोल्पा, प्युठान, रुकुम, डोल्पा, बाग्लुङ, पर्वत, स्याङ्जा जिल्लाबाट विद्यार्थीहरु बुटवलमा आउन थालेका थिए । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु आउन थालेपछि बल्ल बुटवल वास्तवमा मान्छे बटुलिने ठाउँ बन्न थालेको थियो । २०६० को दशकसम्म बहुमुखी क्याम्पसमा धेरै पहाडी जिल्लाका सम्पर्क समाजहरु बनिसकेका थिए । क्याम्पसका विभिन्न ठाउँमा समाजका सुचना पार्टीहरु झुण्डिएका हुन्थे । विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुले बुटवलमा आफ्नो जिल्ला र गाउँठाउँलाई चिनाउने कार्यक्रमहरु गर्ने गर्दथे, यसले गर्दा विभिन्न ठाउँबाट आएका विद्यार्थीहरुले एक अर्को समुदाय र भूगोललाई चिन्न पाएका थिए । देशका विभिन्न स्थानबाट क्याम्पस पढ्न विद्यार्थीहरु आएपछि उनीहरुसंगै विभिन्न भूगोल र जातीय समुहका खानपिन, नाचगान, भेषभुषा, संस्कृति र रहनसहन बुटवलमा फैलिदै गयो । बुटवल बहुमुखी क्याम्पस नहुदो हो त बुटवलले मधेश –पहाड चिन्न धेरै लामो समय पर्खनु पथ्र्यो ।

विकासमा सहयोग
बुटवल नेपालकै पुरानो व्यापारिक केन्द्र भएपनि बसोबासको लागि उपयुक्त थलो मानिदैनथ्यो । बुटवलमा व्यापारीहरुका आवासीय घरहरु सीमित संख्यामा भएपनि अरु मानिसहरुले बुटवललाई छलेर तत्कालिन नौकट्टी र सेमलार, मोतिपुरतिर बस्न रुचाउथे । बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संख्या बढ्दै जाँदा विद्यार्थीहरुलाई कोठा भाडामा दिएर आम्दानी गर्न, सन्तानलाई बुटवलमा राखेर पढाउन गुल्मी, पाल्पा, स्याङ्जाका हुनेखानेहरूले बुटवलमा घर बनाउन थाले । लक्ष्मीनगर, गोलपार्क, चिडियाखोलादेखि इलाका प्रहरी कार्यालय उत्तरको क्षेत्रमा वस्ती फैलिदै गयो । क्याम्पस पढ्न आएका विद्यार्थीहरु पढाई पुरा गरेपछि आफ्नो गाउँघर कमै फर्किए । उनीहरु बुटवल र छेउँछाउँमा नोकरी, ब्यापार, व्यवसाय गरेर बस्ने र परिवारलाई बोलाउने क्रम बढ्यो । द्वन्द्वकालमा त झन् तम्घास, तानसेन, रामपुर, सन्धिखर्क, प्युठान जस्ता ठाउँमा अध्ययन गर्न खोजेकाहरु पनि पढ्नकै लागि बुटवल बहुमुखी क्याम्पस आउँदा वस्ती फैलिदै गयो । पढ्नको लागि बुटवल नझरेको भए पहाडका धेरै मानिसहरुको लागि बुटवल असाध्य स्थान रहन सक्थ्यो र बुटवलको विस्तारको गति कम हुन सक्थ्यो । बुटवल बहुमुखी क्याम्पसमा पढ्न झरेकाहरुले बुटवलाई सुनवलदेखि जितपुर अनि भलवारीसम्म फैलाएका हुन् । बहुमुखी क्याम्पस पढ्नको लागि जतिजति मानिसहरु बुटवलमा थुप्रिदै गए, उतिउति नै बुटवलको व्यापारिक पहिचान पनि घना र फराकिलो हुँदै गएको छ । विद्यार्थीहरुले यातायात क्षेत्रलाई चलायमान गराएका छन् । क्याम्पसमा विद्यार्थीको संख्या र प्रवृति फेरिएपनि चलायमान भएको बुटवल अब पछि फर्कने छैन ।

विद्यालय शिक्षामा योगदान
बुटवल बहुमुखी क्याम्पसले आफुसंग पढ्न आएका विद्यार्थीहरुलाई शिक्षा प्रदान मात्र गरेन, रुपन्देहीको विद्यालय शिक्षाको विस्तार र सबलीकरणमा पनि ठुलो योगदान पु¥याएको छ । बुटवल र यसको छेउँछाउँमा विद्यालय स्थापना गर्नेहरु कुनै न कुनै समयका बहुमुखी क्याम्पसका विद्यार्थीहरु नै थिए । अग्रजहरुले विद्यालय खोल्ने र क्याम्पसमा बिहान बेलुकी पढिरहेका विद्यार्थीहरुले स्कूलमा गएर पढाउने क्रम अहिलेपनि चलिरहेको छ । सामुदायिक विद्यालयलाई बलियो बनाउन र बुटवलमा निजी विद्यालय मार्फत शैक्षिक विकास गर्नमा बहुमुखी क्याम्पसका विद्यार्थीहरुको योगदानलाई भुल्न मिल्दैन । बहुमुखी क्याम्पसका कुनै समयका विद्यार्थीहरुले रुपन्देहीका अब्बल शैक्षिक सस्थाहरु हाँकिरहेका छन् । बुटवल बहुमुखी क्याम्पसमा कुनै समयमा अध्यापन गरेका गुरुहरुले खोलेका निजी र सामुदायिक क्याम्पसहरु देशकै उत्कृष्ट शैक्षिक थलो बनेर रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशलाई चिनाईरहेका छन् ।
साहित्य र पत्रकारिताको उद्गम
बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विभिन्न विद्यार्थी समुह र सम्पर्क समाजहरुले प्रकाशन गरेका भित्ते पत्रिकाहरु बहुमुखी क्याम्पसका विभिन्न सुचना पाटीमा २०५० को दशकमा खुबै देखिन्थे । क्याम्पसमा साहित्यिक कार्यक्रमहरु पनि निकै हुन्थे । नियमित नभएपनि विद्यार्थीहरुले साहित्यिक पत्रिकाहरु निकाल्ने गर्दथे । शिक्षक र विद्यार्थीहरु साहित्यानुरागी भएपछि क्याम्पसमा साहित्य चर्चा भैरहन्थ्यो । अहिले साबिकका लुम्बिनी अन्चलका अधिकांश चर्चित साहित्यकारहरुको साहित्ययात्रा बहुमुखी क्याम्पसबाट नै सुरु भएको थियो । अहिले बुटवललाई मोफसलको पत्रकारिताको राजधानी मानिन्छ । २०४० सम्म फस्टाउन नसकेको लुम्बिनीको पत्रकारितालाई माथि उठाउने काम बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका विभिन्न समयका विद्यार्थीहरुले गरेका थिए । अहिले बुटवलका अधिकांश संचार माध्यममा कार्यरत पत्रकारहरुले बुटवल महुमुखी क्याम्पसमा अध्ययनरत रहदा नै संचार यात्रा शुरु गरेका थिए । क्याम्पसमा हुने ठुलो जमघट, वैचारिक बहस, साहित्यिक चर्चा अनि विद्यार्थीहरुको न्यून आर्थिक अवस्थाको कारणले गर्दा पनि सिर्जनशील विद्यार्थीहरु संचार क्षेत्रमा जोडिएका थिए, जुन अहिलेसम्म पनि कायम छ ।
अनि आफ्नै कुरा..
बुटवल बहुमुखी क्याम्पसदेखि ११ किमी दक्षिणमा मेरो घर भएपनि एसएलसी पास नगर्दासम्म क्याम्पस परिसरमा पाइला टेक्ने अवसर जुटेको थिएन । २०४९ सालमा एसएलसी पास भएपछि आईएस्सीको विद्यार्थीको रुपमा क्याम्पसमा प्रवेश गरेको थिएँ । साइन्सको विद्यार्थी भएपनि साहित्यमा मेरो रुची भएकोले कक्षा कोठा र प्रयोगशालामा भन्दा पुस्तकालयमा मेरो धेरै समय बित्दथ्यो । भर्खरै देशमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो, क्याम्पसमा राजनीति चल्थ्यो, तर मलाई भने त्यस बारेमा चासो नै हुदैनथ्यो । सिमित साथीहरु थिए, शिक्षकसँग निकै डर लाग्ने भएकोले सकेसम्म नजिक पर्न डर लाग्थ्यो । आईएस्सीको २ वर्ष थाहै नपाई बिते ।
आईएस्सी पछिको एक वर्ष त्यत्तिकै खेर गयो । २०५३ सालमा बीएस्सी पढाई हुने भयो । बि.एड. साईन्स पढ्ने तयारी गरेको थिएँ, बीएस्सी खुल्ने भएपछि त्यतै लागियो । बायो र फिजिकल समुहमा गरी करिब ८० जना विद्यार्थीहरु बिएस्सीको पहिलो ब्याचको रुपमा भर्ना भएका थियौं । आईएस्सी त्यही क्याम्पसमा पढेको भएपनि बिएस्सीमा पढ्दा ४÷५ जना बाहेक सबै नयाँ थिए । अनन्त गोपाल, मोहन पन्थी, झा सर, सुधिर सर, भोजराज सर, कृष्ण सर र ल्याब ब्यायहरु बाहेक अरु शिक्षकहरु नयाँ थिए । पहिलो ब्याचको विद्यार्थी हुदा निकै सकस हुदो रैछ । बिएस्सीलाई पढाएका अनुभवी शिक्षकहरु नहँुदा उहाँहरुले मेहनत गर्दागर्दै पनि पढाईमा अलमल थियो । बुटवलमा कोर्सका पुस्तकहरु नपाईदा गोरखपुर पुगेर पुस्तकहरु किनेर ल्याउँथ्यौ । प्रयोगात्मक कक्षाहरु भने धेरै नै हुन्थे । क्याम्पसका अरु संकायका विद्यार्थीहरु खुबै राजनीति गर्थे, तर साइन्सतर्फ भने कहिल्यै राजनीतिले विवाद र विभाजन ल्याउन सकेन । शिक्षक र विद्यार्थीहरु बिचमा निकै बलियो आत्मियता र सद्भाव थियो । क्याम्पस छोडेको २४ वर्षपछि पनि शिक्षकहरुसंगको त्यो आत्मियता अहिलेसम्म पनि उस्तै छ ।
बिएस्सी पढ्न सुरु गरेकै वर्ष ‘विद्यार्थीहरुले वातावरण क्षेत्रमा केही गर्नुपर्छ ’ भन्ने हामीलाई लाग्यो । बिएस्सी र आईएस्सी पढिरहेका विद्यार्थीहरु मिलेर नेपाल वातावरण विद्यार्थी समुह भन्ने संस्था स्थापना ग¥यौं र निकै दुखले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता समेत गरायौं । सस्था चलाउने कुनै आर्थिक श्रोत र अनुभव थिएन । तैपनि आपसमा रकम उठाएर भैरहवा, सुनौली, बुटवल र लुम्बिनीमा नेपाल भ्रमण वर्ष १९९८ लक्षित कार्यक्रम र सरसफाई अभियान चलायौ । हामीहरु विरुवाको अध्ययन गर्नको लागि विभिन्न ठाउँमा पुग्थ्यौ र फर्कदा विरुवा समेत लिएर आउँथ्यौं । क्याम्पसमा ती विरुवा राख्ने ठाउँ थिएन । साईन्स भवन पछाई खाली रहेको गग्रेटो जमिन थियो । त्यसैमा बोटानिकन गार्डेन बनाउने सल्लाह भयो । जमिन सफा गर्ने ढुंगा फुटाउने र हटाउने, कडा जमिन गैंती र कोदालोले खन्ने, क्यारी बनाउने, गमला ल्याउने र विभिन्न विरुवाहरु लगाउने काम सबै विद्यार्थीहरु मिलेर गरियो । शिक्षकहरुले समेत त्यसमा आड दिनुभयो । नगरपालिकामा माग गरेपछि गार्डेनलाई जोगाउने गरी उत्तरमा पर्खाल लगाउने बजेट निकाशा भयो र क्याम्पसले पर्खाल समेत लगायो । बिएस्सी पढुन्जेल सबै विद्यार्थीहरुले त्यो बोटानिकल गार्डेन भनिएको फूलबारीको निकै स्याहार गरियो । त्यसपछि फर्किएर गएको छैन, अहिले कस्तो छ कुन्नि थाहा भएन । त्यही फूलबारी अनि वातावरण विद्यार्थी समाजले गर्दा मलाई वातावरण क्षेत्रमा अध्ययन अनुसन्धान गर्न र काम गर्न प्रेरित ग¥यो, जुन क्षेत्रमा अहिलेसम्म पनि लागिरहेको छु । बिएस्सी भर्ना भएका आधाजसो विद्यार्थीहरु तेश्रो वर्षमा पुग्दा क्यम्पस छोडिसकेका थिए । बिएस्सी उत्तीर्ण गरेपछि धेरै साथीहरुसंग सम्पर्क नै भएन । रुना, बन्दना, गणेश, नवराज, संजय, कमल र म मास्टर्ससम्म संगै रह्यौ । मास्टर्स पढेपछि म बाहेक उल्लेखित सबै साथीहरु बुटवल बहुमुखी क्याम्पसमै प्राध्यापन गर्न थाले । अरुले छोडेपनि अहिले पनि कमल शर्मा र संजय मरासिनी, दुर्गा भुसाल र आईएस्सीको साथी लक्ष्मण गौतम बहुमुखी क्याम्पसमै प्राध्यापन गरिरहेका छन्, साथीहरुलाई देखेरै खुशी लाग्छ ।
बुटवलमा एमएस्सी नभएको र स्नातकोत्तरमा मिल्दो विषय नभएकोले बिएस्सी पढेपछि बुटवल बहुमुखी क्याम्पस छोड्नुप¥यो । काठमाडौंमा गएर स्नातकोत्तर सकेको केही वर्षपछि फेरी यही क्याम्पसमा एक वर्षे बिएड र त्यसपछि एलएलबिको विद्यार्थी भएर अध्ययन गर्ने अवसर पाइयो । यसरी कुल ९ शैक्षिक वर्षहरु बुटवल बहुमुखी क्याम्पसमा विताइएछ । बिएड पढ्दाका कुनै सम्झना लायक कुराहरु छैनन्, न त एलएलबी पढ्दाका नै । तर आईएसी र बीएस्सी पढ्दा अनन्त गोपाल सर, सुधिर सर, विद्यासागर झा सर, मोहन पन्थी सर, भोजराज सर, कृष्ण शर्मा सर, भरत विष्ट सर, मनोज सर लगायतका सरहरुले गरेको असल व्यवहारले गर्दा मलाई लामो समयसम्म स्कूल र क्याम्पसहरुमा शिक्षण गर्न हौसला र ज्ञान मिलेको छ । बीएस्सी पढ्दा सुरु भएको वातावरणीय अनुसन्धान र सचेतनाको बाटोलाई अहिले पेशा र सेवा बनाउन सकिएको छ । आईएस्सी पढ्दा पुस्तकालयमा विताएका अनेकौ दिनहरुले अध्ययन गर्ने बानीको विकास मात्र गरेको छैन, लेखेरै जीवन चलाउन सक्ने बनाएको छ । क्याम्पस छोडेको धेरै भयो । पढ्दाका साथीहरु छैनन् । अचेल त मलाई पढाएका गुरुहरुसंग पनि क्याम्पसमा भेट हँुदैन । तरपनि ट्राफिक चोकभन्दा माथि पुगेपछि एकपटक बहुमुखी क्याम्पस पसेर ५÷७ मिनेट भुल्न मन लाग्छ । आँपको रुखमुनि बसेर काँचो आँप चपाईरहेका साथीहरु, क्यान्टिनमा बसेर चियाको चुस्की लिइरहेका साथीहरु, शौचालयमा पालो पर्खने साथीहरु, पुस्तकालयमा लुकेर बसेर ठेली पल्टाईरहेका साथीहरु त्यतै कतै छन् कि जस्तो लाग्छ । मैले पहिलोपटक देश चिनेको थलो हो यो । आफ्नो गाउँ र वार्ड भन्दा बाहिरका मान्छेलाई साथी बनाएको थलो हो यो । अनि बुटवललाई आधुनिक बुटवल बनाएको थलो हो यो । धेरै कुराहरु सम्झना हैन, आत्मा बन्ने रहेछन् ।
(बुटवल बहुमुखी क्याम्पसको स्मारिका २०८० बाट)