Butwal Today

आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने

२१ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाण्डौ ।

निर्वाचन आयोगले आगामी आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने काम पुनः शुरू गर्ने निर्णय गरेको छ। यसअघि १५ गते सम्पन्न उपचुनावका कारण स्थगित गरिएको दर्ता प्रक्रिया अब नियमित रूपमा सुरु गर्न लागिएको हो। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उपचुनावको परिणाम प्राप्त भएसँगै अब आयोगले नयाँ नामावली दर्ता, त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र मृत्यु/बसाइँसराइको विवरण अद्यावधिक गर्ने कार्य अगाडि बढाउनेछ।

मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नागरिकता आवश्यक पर्नेछ। यदि नागरिकताको ठेगानाभन्दा अलग ठेगानामा बसोबास गर्दै हुनुहुन्छ भने विवाह दर्ता र बसाइँसराइ दर्ताको प्रमाण पनि प्रस्तुत गर्नुपर्नेछ। आयोगले बाहिरी जिल्लाबाट समेत मतदाता नामावलीमा दर्ता गर्नको लागि वेबसाइट मार्फत आवेदन दिने सुविधा मिलाएको छ। यसका अतिरिक्त, मृत्यु वा बसाइँसराइको आधारमा भएका सबै परिवर्तन पनि दर्ता र अद्यावधिक प्रक्रियामा समावेश गरिने आयोगले जनाएको छ।