Butwal Today

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी साधारणसभा

१६ मंसिर २०८१, आइतबार
अ+
अ-

जितपुर, १६ मंसिर ।
लुम्बिनी प्रदेश सभाका सदस्य विष्ष्णु पन्थीले भूपू खानेपानी प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित रहेको बताउँदै खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै सरकारले सहयोग गर्ने नीति रहेको बताए । स्थानीय समूह संस्थाहरूलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँदै पन्थीले प्रदेशमै नमुना खानेपानीको रूपमा स्थापित भएकोमा प्रंशसा गरे । बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं वार्षिक साधारण सभामा बोल्दै उनले जिल्लाकै ठुलो आयोजना रहेको उक्त खानेपानीले नगरवासीलाई शुद्ध खानेपानी वितरण गरेर स्वास्थ्य सरसफाईमा महत्वपूर्ण योगदान गरेको बताए । पूर्व स्वास्थ्य मन्त्री पन्थीले स्वच्छ वातावरण र सरसफाईमा पनि अगुवाई गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरकै गौरवको आयोजनाको रूपमा रहेको यस खानेपानी उपभोक्ता समितिलाई नगरले सहयोग गर्दै आइरहेको बताए । उनले एक घर एक धाराको नीति अनुसार नगरवासीलाई स्वच्छ पानी वितरणको सेवा विस्तारमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुका प्रमुख दिनेश शाहले वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जिल्लामै अग्रणी भूमिका निर्वाह गरेकोमा अन्य उपभोक्ता समितिले पनि अनुसरण गर्नुपर्ने बताउदै संघीय तथा प्रदेशका निकायबाट आवश्यक समन्वय गरी काम भैरहेको बताएका थिए ।
त्यस्तै कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रिय सचिव थान प्रसाद गैरे, केन्द्रिय सदस्य कमना न्यौपाने, वाणगंग नगर उपभोक्ता महासंघका अध्यक्ष विश्व कार्की, समितिका उपाध्यक्ष झलक मल्ल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले संस्थाको उपलब्धी जानकारी गराउदै भावी योजना र कार्यक्रमबारे प्रकाश पारे । साधारण सभामा सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए । वाणगंगा नगरपालिका १, ३ र ४ वडाका २७ सय ६३ उपभोक्ता रहेको उक्त खानेपानी समितिको ६ करोड ११ लाख बराबरको आय व्यय समितिकी कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेकी थिइन् । पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानीको शुद्धता परिक्षण सम्बन्धी प्रतिवेदन तथा अनुगमन तथा मूल्यांकन बारे समितिका सदस्य भोजराज आचार्यले प्रतिवेदन पेश गरेका थिए ।