© 2026
भैरहवा, १४ मंसिर ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रूपन्देहीबाट शान्तिको सन्देश संसारभर फैलाउनुपर्ने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देहीमा रहनु गौरवको विषय भएको भन्दै यहाँका बासिन्दाले विश्वलाई नै शान्तिको सन्देश फैलाउनुपर्ने जनाए ।
शुक्रबार भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘यो बुद्धभूमि हो, त्यसैले हामीले यहाँबाट एकता र शान्तिको सन्देश संसारभर फैलाउन सक्नुपर्छ । फैलाउनुपर्छ ।’
उनले रुपन्देहीबासीले बिरोध असन्तुष्टिमा लागेर समय खेर फाल्न नहुने जनाए । ‘हामी सकारात्मक चिन्तन, नवीन सोचमा लागौँ तर विरोधका लागि विरोध गरेर समय खेर नफालौं’,अर्थमन्त्री पौडेलले भने । बुद्धभूमि गौतम बुद्धको जन्म स्थलबाट हामी बुद्धका सन्तान हौँ भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले एउटा संकल्प गरौँ, नकारात्मक सोचबाट माथि उठौँ,’ अर्थमन्त्री पौडेलले भने ।
रुपन्देही जिल्लाले शान्तिको सन्देश, एकताको सन्देश, सकारात्मक बिचारको सन्देश देशमा र विश्वभर प्रवाह गर्नुपर्ने अर्थमन्त्री पौडेलले जनाए । अर्थमन्त्री पौडेलले आँखा अस्पतालले लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमै उत्कृष्ट सेवा प्रवाह गरिरहेको जनाए । उनले भने, ‘यहाँ नेपालीहरुले मात्रै होइन्, भारतबाट समेत दैनिक सयौं जना आँखा उपचार आउँछन्, सेवा र उपचार पद्दतीलाई अझै विशिष्टिकृत गरायौं भने धेरैको रोजाई पर्छ ।’
उनले स्वास्थ्य क्षेत्रमा रुपन्देहीलाई अब्बल बनानुपर्नेमा जोड दिए । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा रुपन्देहीमा धेरै काम भएको जनाए । ‘हामीले यहाँ गर्नुपर्ने धेरै काम गरेका छौं’, उनले भने, ‘केही योजनाहरु भए, त्यसलाई पनि पूरा गर्छौं ।’
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लीला गिरीले आँखा अस्पतालले यस क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको जनाए । सेवा विस्तार गर्दै लैजानु सुखद् पक्ष रहेको जनाउँदै विशिष्टिकृत सेवामा ध्यान दिए आँखा उपचारमा भैरहवा अस्पतालले छुट्टै पहिचान बनाउन सक्ने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेउ, रण अम्बिका आँखा अस्पतालका अध्यक्ष सागरप्रताप राणा लगायतले बोल्दै हिजो र आजको अवस्थामा अस्पतालले धेरै विशेषज्ञ सेवा प्रदान गर्दै आएको जनाए । उनीहरुले अत्याधुनिक अल्यक्रिया भवन निर्माणले विरामीलाई थप सहजता हुने समेत बताए । छिमेकी भारतीय नागरिक यहाँ आँखा उपचार गराउन आउँदा यसले स्वास्थ्य पर्यटनमा समेत योगदान दिइरहेको बताए ।