Butwal Today

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित

१० मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौँ — पाकिस्तानमा जारी दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको हो ।

आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेर पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । खेलमा अफगानिस्तान ९ विकेट गुमाएर केवल एक सय २० रनमा समेटियो ।

नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए ।

अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।