Butwal Today

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

१० मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौं 

नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ।

ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।

थप अनुसन्धान गर्नुपर्ने देखिएकी मनिषा घटनाका मुख्य योजनाकार ताजकी प्रेमिका हुन्। उनैको योजनामा भैंसेपाटी  प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेका थिए।

मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन्।

शाही र पोखरेल फरार छन्। थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘कनेक्सन’ गराइदिएको आरोप छ। थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन्।

थापाले हनी ट्रयापको सिलसिलमा रहेका इस्लामसँग एयरपोर्टस्थित एक होटलमा भेटेको तथ्यसमेत फेला परेको छ।

इस्लाम सुनसरीका हुन्। थापा सुनसरी बस्दासमेत इस्लाम उनीसँग निकट रहेको बुझिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?