Butwal Today

अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै

७ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका केटाकेटीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

बिहीबार अस्ट्रेलियाकी सञ्चार मन्त्रीले सामाजिक सञ्जालका कारण केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यमा असर परेको भन्दै संसदमा यो सम्बन्धी विधेयक पेस गरेकी हुन्।

सञ्चार मन्त्री मिशेल रोल्यान्डले अहिले अनलाइन सुरक्षा अभिभावकका लागि ठूलो चुनौती भएको भन्दै केटाकेटीको पहुँच कम गर्न यस्तो कानुन ल्याइएको बताएकी छन्।

यो कानुन संसदबाट पास भएर लागू भएपछि, यदि १६ वर्षमुनिका केटाकेटीलाई सामाजिक सञ्जालमा अकाउन्ट बनाउन रोक्न नसकेमा, सम्बन्धित सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना गरिनेछ।

सिएनएनका अनुसार कानुन उल्लंघन गर्नेलाई तीन करोड २० लाख अमेरिकी डलरसम्म जरिवाना हुनेछ।

‘अस्ट्रेलियाका धेरै बालबालिका र युवाका लागि सामाजिक सञ्जाल हानिकारक साबित हुन सक्ने देखिएको छ। त्यसैले उनीहरूलाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्न जरूरी भएको हो,’ उनले भनिन्, ‘हाम्रो यो कदम अभिभावकहरूका लागि धेरै सहयोगी हुनेछ।’

केहीले भने यसरी केटाकेटीलाई सामाजिक सञ्जाल प्रयोगमा रोग लगाउँदा उल्टो समस्या बढ्न सक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?