© 2026
बुटवल, ६ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा सेवा केन्द्रका बालबालिकालाई न्यानो कपडा, पठन र खेलकुद सामग्री सहयोग गरेको छ । बुधबार एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाडले मानवसेवा आश्रमका प्रेम बहादुर सारुलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नगरप्रमुख खाडले बालबालिकाको लागि खाना, नाना, छाना अनिवार्य अधिकार भएको उल्लेख्य गर्दै स्थानिय सरकारमार्फत त्यसमा निरन्तर काम गरिरहेको बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार रचनात्मक कामलाई निरन्तरता दिदै सहयोग सामग्री हस्तान्तरण गरिएको बताए । बालअधिकार एक नैसर्गिक अधिकार; सुनौलो भविष्यको आधार भएको भन्दै बालबालिकाको संरक्षण, स्याहारसुसार, कल्याण, व्यक्तित्व विकास र सबल नागरिकका रूपमा खडा गर्न राज्य, समाज र परिवारले निर्वाह गर्नुपर्ने दायित्व नै बाल अधिकारको केन्द्रविन्दु भएको बताए । एक बर्ष देखि १४ बर्ष सम्मका १७ जना बालबालिकाको लागि न्यानो कपडा, पठनपाठन तथा खेलकुदका सामाग्रीहरु सहयोग गरेको उनले बताए ।
कार्यक्रममा समाजका उपसभापति कृष्ण पाण्डे, सहसचिव अर्जुन कुवरले संयुक्त राष्ट्रसंघ महासभाबाट २० नोभेम्वर १९८९ का दिन बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको भन्दै यसै दिनलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाईदै आएको बताए ।