Butwal Today

प्रधानमन्त्रीको विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धकै षडयन्त्र : शंकर पोखरेल

४ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, ४ मंसिर ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई वरवाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् ।

‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बैंकको क्रृण नतिर्न आम नागरिकलाई उक्साइरहेका दुर्गा प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

प्रसाईँले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनता विरुद्धको षडयन्त्र भएको उल्लेख गरेका छन् ।

प्रसाईँले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने धम्की पनि प्रसाईँले दिएका छन् ।