© २०२३
कपिलवस्तु, ०३ मंसिर ।
यहि मंसिर १६ गतेका लागि निर्धारित स्थानीय तहको उपनिर्वाचनका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदमा १४ जनाले मनोनयन दर्ता गराएका छन । वडा अध्यक्ष पदका लागि १० राजनीतिक दल र ४ जना स्वतन्त्र गरि १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
मनोनयन दर्ता गराएकामा नेपाली काँग्रेस पार्टीबाट दिनेश कुमार यादव, नेकपा एमालेबाट मोहम्मद ताहिर मुसलमान, नेकपा माओबादी केन्द्रबाट रफी मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अबधेस कुमार चौधरी, नेकपा एसबाट सुब्बा थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज अहमद धोबी, जसपा नेपालबाट राम बहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल (कुर्मी), नागरिक उन्मुक्ति पार्टीबाट सुर्य कुमार चौधरी थारु र जसपाबाट रमेश कुमार पाण्डे छन । त्यसै गरि स्वतन्त्र उम्मेदवारी दिनेमा अब्दुल मुयीद मुसलमान, सर्वजित मल्लाह, अब्दुल अब्बल फकिर र पुजारी थारु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नम्बर १ का अध्यक्ष तिलकराम यादवको यसै बर्ष असोज ९ गतेका दिन उपचारका क्रममा भारतको दिल्ली स्थित अपोलो अस्पतालमा निधन भएको थियो । २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा यादव नेपाली काँग्रेस पार्टीबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । निवाचित यादवले १ हजार ३२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अब्दुल मोजिब खाँले ८ सय ८९ मत पाएर पराजित भएका थिए ।
नेपाली काँग्रेस पार्टीले तिलकरामका छोरा दिनेशलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनले नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका छन । एमालेबाट तिलकरामका प्रतिश्पर्धि रहेका मोजिबलाई उम्मेदवार बनाउने प्रचार गरिए पनि अन्तिम समयमा एमालेले उनका भतिजा मोहम्मद ताहिर लाई टिकट दिएको छ । उम्मेदवार निर्धारित मोजिबको मनोनयन खारेजको उजुरी पर्न सक्ने देखिए पछि एमालेले अन्तिम समयमा उम्मेदवार परिर्वतन गरेको खुल्न आएको छ ।