© २०२३
भैरहवा, १ मंसिर ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संविधान ढुंगाको अक्षर नभएको बताएका छन् । यो गतिशिल दस्तावेज भएको र समाजको आवश्यकताका आधारमा परिस्कृत हुँदै जाने उनको भनाइ छ ।
थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताए ।
अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने पनि उनले बताए । उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए ।
अर्थमन्त्री पौडेलले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु सहभागी भएर अहिलेको सरकार बनेको पनि बताए ।
उनले भने, ‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सहभागितामा अहिलेको सरकार बनेको छ । थारु समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन ।’
थारु समुदाय आदिवासी र धर्तीपूत्र भएको उनले बताए । यो समुदायप्रति गर्व गर्नुपर्ने उनले बताए । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि यो समुदायको महत्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने अर्थमन्त्री पौडेलको भनाइ छ ।
“सामाजिक सदभाव र एकता थारु समुदायको विशेषता हो । यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपाल सबै जातजातिको फूलबारी हो” अर्थमन्त्री पौडेलले भने, “हामीबिच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ । यहाँहरुको प्रयास अनुकरणीय छ ।”
कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमलाल चौधरीले थारु समुदाय अधिकारबाट वञ्चित भएको बताए । उनले थारु समुदायको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
थारु कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।