© २०२३
बुटवल, २२ कात्तिक ।
निर्माण व्यवसायीको लापरवाहीका कारण विगत आठ बर्षदेखि अलपत्र परेको बुटवलको मूख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
ठेक्का सम्झौता भएको आठ बर्षमा पनि साढे तिन किलोमिटर सडक बनाउन निर्माण व्यवसायीले लापरवाही गरेपछि सडक विभागले पुरानो ठेक्का सम्झौता रद्द गरि बाबुल दर्शन मालिका जेभीले नयाँ टेण्डरमाफत निर्माणको जिम्मा पाएको हो ।
अहिले बुटवलको नयाँ बसपार्क अगाडीको क्षेत्रबाट निर्माणको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी विरुवा जेभी कन्स्टक्सन प्रालिले साढे तिन किलोमिटर सडक आठ बर्षमा पनि निर्माण सम्पन्न नगरी आलटाट गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा पाएको बताए ।
सूचना अधिकारी लम्सालका अनुसार उक्त सडक एक बर्षमा सम्पन्न गर्ने र ६ लेनमा विस्तार गर्ने गरि असोज १८ गते ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो ।
यसअघि बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक बनाउन सात वर्षअघि बिरुवा जेभी कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाण्डौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का पाएको थियो ।
२०७६ सम्ममा सडक विस्तार सक्ने गरी ०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनीले सडक निर्माणमा लापरवाही गरेपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता रद्द गरेको हो ।
यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले दुई महिनाअघि पुरानो ठेक्का रद्द गरी नयाँ टेण्डर गरेको थियो ।
अव निर्माण हुने उक्त सडकको लेन ६ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी गरिएको छ ।
अव सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ ।