Butwal Today

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

२० कार्तिक २०८१, मंगलवार
अ+
अ-

महोत्तरी –

मिथिलासहित तराई/मधेसमा मनाइने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरू भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व विशेषगरी तराई/मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ ।

पारिवारीक सुख, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको मुख्य विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । छठमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । पहिलो दिन आज नहा खा अर्थात् नुहाएर खाने गरिन्छ । दोस्रो दिन भोलि बुधवार खरना हुन्छ । अनि राति अरवा अरबाईन (नुन नभएको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी पीठोबाट बनाइएका विभिन्न खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी व्रतालु परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्छन् ।

षष्ठीका दिन अस्ताउँदो सूर्यलाई आराधना गरिन्छ । त्यसको भोलिपल्ट अर्थात् शुक्रवार बिहानै छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ उदाउँदो सूर्यलाई अर्घ दिई  छठ पर्व सम्पन्न हुने महोत्तरीको जलेश्वर नगरपालिका–१ जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए ।

पहिला तराई मधेसका जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित देशका प्रमुख शहर तथा पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?